बाराको निजगढ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित स्थानीय समुदायमा आधारित घरबास (होमस्टे) सञ्चालनलाई प्रवद्र्धन गर्न सातदिने घरबास व्यवस्थापन तालिम सुरु गरेको छ। निजगढका उत्तरी भेगमा रहेका माझी तथा चौधरी बस्तीलाई लक्षित गर्दै बुधबारदेखि तालिम सञ्चालनमा ल्याइएको हो।
निजगढ नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा सुरु गरिएको उक्त तालिममा ७५ जनाको सहभागिता रहेको छ। तालिममार्फत स्थानीय समुदायलाई घरबास सञ्चालन, पाहुना सत्कार, सरसफाइ, स्थानीय खानाका परिकार तयार गर्ने सीप तथा पर्यटन व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।
नगर उपप्रमुख सोम माया थिङले स्थानीय समुदायलाई स्वरोजगारसँग जोड्दै पर्यटकमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन। उनका अनुसार, घरमै उपलब्ध कोठालाई व्यवस्थित गरी पाहुनालाई सशुल्क सेवा दिन सकिने सम्भावना भए पनि व्यवस्थापनसम्बन्धी ज्ञानको अभावका कारण स्थानीयवासी अन्योलमा थिए।
उनले भनिन,‘आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर सेवा गर्न सकिने भए पनि तालिमको अभावमा कहाँबाट र कसरी सुरु गर्ने भन्ने समस्या थियो। अब यो तालिमले त्यसको समाधान गर्ने विश्वास लिएका छौँ।’
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले होमस्टे सञ्चालनले स्थानीय उत्पादनको बजारीकरणसँगै आम्दानीको स्रोत बढाउने बताए। उनले तालिममा सहभागीलाई घरबास व्यवस्थापनका साथै स्थानीय स्तरमा उत्पादन हुने खाद्यवस्तुबाट विभिन्न परिकार बनाउन सिकाइने जानकारी दिए। ‘पाहुनालाई स्थानीय स्वाद र संस्कृति अनुभव गराउन सकियो भने स्थानीय उत्पादनको बिक्री बढ्नुका साथै सञ्चालकले पनि राम्रो आम्दानी गर्न सक्छन,’ गौतमले भने,‘तालिमले घरबास सञ्चालनको नीति, व्यवस्थापन र सेवा प्रवाहबारे समेत जानकारी दिनेछ।’
पालिकाभित्र माझी, चौधरी, थारु तथा मगर समुदायमा आधारित होमस्टे सञ्चालनको सम्भावना बढ्दै गएपछि इच्छुक स्थानीयलाई लक्षित गरी तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
तालिममा प्रशिक्षक मोहनबहादुर गजुरेल र नकुल धितालले सहजीकरण गरिरहेका छन। प्रशिक्षक गजुरेलले होमस्टे केवल बसोबासको माध्यम नभई स्थानीय संस्कृति, परम्परा र आतिथ्यतालाई पर्यटकसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनका अनुसार तालिममा सरसफाइ, गुणस्तरीय खाना तयारी, पाहुना सत्कार, कोठा व्यवस्थापन तथा प्रचारप्रसारका विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ।
पर्यटनविद् डा. उदव पुरीले गाउँमै उपलब्ध स्रोत, स्थानीय संस्कृति र प्राकृतिक सम्पदालाई सदुपयोग गरेर राम्रो आम्दानी गर्न सकिने बताए। तालिमपछि सहभागीहरूले व्यवस्थित र आकर्षक होमस्टे सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गर्दै उनले ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो भूमिका खेल्ने उल्लेख गरे।
वडा नम्बर ४ का वडा अध्यक्ष विष्णु सापकोटाले तालिमले पर्यटकको मन लोभ्याउने कला सिकाउने विश्वास व्यक्त गरे। ‘यो तालिमबाट घरबास व्यवस्थापन मात्र होइन, पर्यटकलाई कसरी खुसी बनाउने भन्ने सीप पनि प्राप्त हुनेछ,’ उनले भने।
नगरपालिकाका प्रशासन शाखा प्रमुख अजय उप्रेतीका अनुसार होमस्टे सञ्चालनले स्थानीय संस्कृति संरक्षणसँगै आर्थिक आयआर्जनमा समेत टेवा पुग्नेछ। ‘प्राकृतिक, सांस्कृतिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने,‘यसले नगरपालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ दिनुका साथै स्थानीयको जीवनस्तर सुधारमा पनि सहयोग पुग्नेछ।’
कार्यक्रमको सहजीकरण रोजगार संयोजक ऋषभ काफ्लेले गरेका थिए। कार्यक्रममा लेखा अधिकृत शिवप्रसाद देवकोटा, वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो, हिरालाल रानालगायतको सहभागिता रहेको थियो।
पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त मानिएको निजगढमा पर्सा राष्ट्रिय निकुञ्ज, विभिन्न खोला, झरना, पिकनिक स्थल, धार्मिक मन्दिर तथा मनोरम दृश्य अवलोकनका लागि वर्षेनी पर्यटक पुग्ने गरेका छन। साथै निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रभावले पनि निजगढको पर्यटन सम्भावना थप बढ्दै गएको स्थानीयको विश्वास छ।
निजगढ नगरपालिकाले पछिल्लो समय पर्यटन प्रवद्र्धनसँगै समुदायमा आधारित घरबास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।



