भारत दार्जलिङकी २१ वर्षिया रजनी राई यतिबेला बारा प्रहरीको खोजी सूचिमा छिन् । नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि प्रहरीले उनको खोजी थालेको हो ।

सिमरास्थित ईलाका प्रशासन कार्यालयबाट असार १ गते ३३–०२–७९–००५१३ नम्बरको नागरिकता लिएकी रजनी त्यसयता सम्पर्कविहिन छिन् । निजगढ नगरपालिका वडा नं. १२ ले दिएको सिफारिसका आधारमा रजनीले नागरिकता प्राप्त गरेकी हुन् ।

नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेश गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको थियो । निजगढ १२ रतनपुरका श्यामराज गोलेलाई बुवा र जिरामाया गोलेलाई आमा बनाउदै जेठ २३ गते रजनी गोलेको नाममा जन्मदर्ता बनाएकी उनले जन्मदर्ताको आधारमा नागरिकता लिन सफल भएकी हुन् ।

जन्मदर्ता र अनुसूची फारम

जन्मदर्ता र अनुसूची फारम

नागरिकता प्राप्त गर्न रतनपुरका गोले परिवारलाई प्रयोग गरेकी रजनीले जेठ २३ गते जिरामायामार्फत जन्मदर्ताका लागि निवेदन दिएको र सोही दिन जन्मदर्ता प्राप्त गरेको देखिएको छ । २०५८ साल चैत्र १५ गते जन्म भएको उल्लेख गरेर रजनीले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेकी थिईन् । तर रजनी भारतिय नागरिक रहेको प्रमाण खुल्ने मतदाता परिचयपत्र र आधार कार्डमा उनको जन्म सन् १९८९।०३।२४ अर्थात वि.स. २०४५।१२।११ गते उल्लेख छ ।

जन्मदर्ता अघि रतनपुरस्थित अस्थायी प्रहरी चौकीमा सर्जविन मुचुल्का तयार गरिएको थियो । उक्त सर्जविन मुचुल्कामा यसअघि विविध कारण जन्मदर्ता हुन नसकेको उल्लेख गर्दै निजगढ नगरपालिका वडा नं. १२ का वडासचिव शुभचन्द्र महतो, वडा सदस्य बुद्धिमाया विकसहित ८ जनाले हस्ताक्षर गरेका छन् । जिरामाया निवेदक रहेको सर्जविन मुचुल्कामा गाँउका स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानले रजनी उनकै छोरी हो भनेर प्रमाणित गर्दै हस्ताक्षर गरेको देखिन्छ ।

नक्कली अभिभावक श्यामराज गोलेलाई बुवा र जिरामाया गोलेलाई आमा

सर्जविन मुचुल्काको आधारमा जन्मदर्ता बनाइएको र सोही जन्मदर्ताको आधारमा जेठ २४ गते रजनीले नागरिकताका लागि निवेदन दिएकी थिईन् । नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूचि फारममा रजनीलाई अविवाहित रहेको प्रमाणित गरिएको छ । तर रजनीको भारतिय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतिय मतदाता परिचय पत्रमा उनको बुवाको नाम किशोर राई उल्लेख छ ।

नक्कली विवरण भरिएको अनुसूचि फारमसहित निजगढ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जेठ २४ गते ईलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा ईलाका प्रशासन कार्यालयले रजनीलाई असार १ गते नागरिकता दिएको हो ।

वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नै नभएको बताए । ‘कागजपत्र सबै ठिक थियो, गाँउको चिनेकै मान्छे भएकाले सिफारिस गरेको हो’ वडाध्यक्ष गोलेले ईशिलालेखलाई भने ‘तर अहिले भारतीय नागरिकले झुक्याएर नागरिकता लगेको जानकारी हुन आएको छ । त्यसैले बदरका लागि प्रक्रिया सुरु गरेको छु ।’

गोले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनकै सिफारिसका आधारमा भारतीय नागरिकले नागरिकता प्राप्त गरेपछि यतिबेला उनि समेत छानविनको दायरामा तानिएका छन् । ईलाका प्रशासन कार्यालयले वडाध्यक्ष गोलेसहित रजनीको नक्कली अभिभावकलाई नागरिकतासहित उपस्थित गराउन निजगढस्थित ईलाका प्रहरी कार्यालयलाई पत्र काटेको छ ।

भारतीय आधार कार्ड र मतदाता परिचयपत्र ।

यसअघि नागरिकता प्राप्त गरेकी रजनीलाई हाजिर हुन पत्र काटेको प्रशासनले उनि सम्पर्कविहिन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा अर्को पत्र काटेको हो । रजनीका नक्कली अभिभावक समेत सम्पर्कमा छैनन् । ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले नागरिकता प्राप्त गर्ने व्यक्ति हाल सम्पर्कमा नभएका कारण वडाध्यक्ष र अभिभावकलाई उपस्थित हुन पत्र काटिएको जानकारी दिए ।

‘हामीले पहिला नागरिकता प्राप्त गर्ने व्यक्तिलाई खोज्यौ तर सम्पर्क हुने स्थिती नभएपछि वडाध्यक्ष र अभिभावकलाई बोलाएका छौ’ अर्यालले ईशिलालेखलाई भने ‘उहाँहरु आएपछि नागरिकताको विषयमा छानविन गरेर बदरसहित आवश्यक प्रक्रिया अघि बढाउछौं ।’

कार्यालयबाट जारी भएको सक्कली नागरिकता फर्काउने काम पहिलो प्राथमिकतामा रहने र बदरका लागि गृह मन्त्रालयमा प्रक्रिया थालिने अर्यालको भनाई छ । नागरिकता कार्यालयबाट जारी भएपनि बदर गर्नेे अधिकार गृह मन्त्रालयसंग मात्रै रहनेछ । ‘हामीसंग बदर गर्ने अधिकार हुदैन् त्यसैले गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडी बढाउनुपर्छ ।’ अर्यालले भने ।

भारतीय नागरिकले नागरिकता लगेको विषयमा अर्याल समेत अनविज्ञ देखिन्छन् । वडा कार्यालयको सिफारिस, जन्मदर्ता, प्रहरी सर्जविन मुचुल्कालगायत सबै कागजात पूरा देखेपछि कार्यालयले नागरिकता जारी गरेको अर्यालले बताए । ‘हामीले सिफारिस भई आउने कागजपत्र हेर्ने हो, कागजपत्रमा कुनै शंका लागेमा मात्रै छानविन गरेर नागरिकता दिने गरेका छौ’ अर्यालले भने ‘तर यो विषयमा सबै कागजात पूरा देखेपछि नागरिकता जारी भएको हो ।’

जनप्रतिनिधि र प्रशासनलाई झुक्याएर नागरिकता लिएकी रजनीले गोले परिवारलाई आर्थिक प्रलोभन देखाएर प्रयोग गरेको देखिन्छ । दार्जलिङबाट नागरिकता बनाउनकै लागि निजगढ आएकी उनि त्यसयता सम्पर्क बाहिर छिन् । रजनीले पासपोर्ट बनाउनका लागि नेपाली नागरिकता लिएको र पासपोर्ट बनाएर बिदेश जाने तयारीमा रहेको समेत बुझिएको छ ।

(भिडियो हेर्नुहोस्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय