निजगढ, निजगढ नगरपालिका– १ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक आज दिउसो टोयटा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार सर्लाही घर भएका एक दम्पति गम्भीर घाइते भएका छन ।
निजगढबाट बा ९६ प ६४७६ नम्बरको मोटरसाइकलमा सर्लाहीको बागमति नगरपालिकास्थित घरतर्फ जादै गरेका राजकुमार श्रेष्ठ र श्रीमती अञ्जना विपरित दिशाबाट आएको टोयटा जीपको ठक्करबाट घाइते भएका हुन ।
काठमाण्डौतर्फ जादै गरेको बा १५६ ८४९२ नम्बरको जीपले दिउसो १.२० बजे श्रेष्ठ दम्पति सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते दुबैको अवस्था गम्भीर रहेको र उपचारको लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय निजगढमा प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी निजगढ–सिंगौल सडकखण्डको सुकेपोखरी नजिक हाइलाक्स गाडी आज बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको छ । सिंगौलबाट सर्लाहीको कर्मैयातर्फ जाँदै गरेको ‘हाईलक्स’ गाडी अनियन्त्रित भई अचानक सुकेपोखरीको उत्तरी मोडमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।
गाडीको ठक्करबाट बिजुलीको पोल भाँच्चिएर तार चुँडिदा निजगढ–सिंगौल क्षेत्रमा केहीबेर विद्युत अवरुद्ध हुन पुगेको थियो । साँझ करिब साँढे ४ भएको सो दुर्घटनामा चालक आयुष केसी भने सकुशल रहेका छन । उनलाई कुनै चोटपटक लागेको छैन भने गाडी भने पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । तिव्र गतिका कारण दूर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।



