निजगढ नगरपालिकामा हालसम्म कुनै पनि राजनीतिक दलको नगर नेतृत्वमा महिला पुग्न नसकेको अवस्थामा नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहबाट निजगढ नगर सभापतिमा महिला नेतृत्व आउने सम्भावना बलियो बनेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहको निजगढ नगर सभापतिका लागि वडा नम्बर ५ की सीता अधिकारीको नाम बलियो दाबेदारका रूपमा अगाडि आएको हो ।
देउवा समूह निकट स्रोतका अनुसार अधिकारीलाई नगर सभापतिका लागि बलियो उम्मेदवारका रूपमा अघि सार्ने तयारी भइरहेको छ । अधिकारी सभापति गगन थापा पक्षधर समूहलाई चुनौती दिने गरी संस्थापन पक्षबाट महिला नेतृत्वको विकल्पका रूपमा अगाडि आएकी हुन् । अधिकारी नगर सभापति निर्वाचित भए निजगढ नगरपालिकाको राजनीतिक इतिहासमै पहिलो पटक कुनै राजनीतिक दलको नगर नेतृत्वमा महिला पुग्ने अवस्था बन्नेछ ।
निजगढ नगरपालिकाभित्र विभिन्न राजनीतिक दलको संगठनात्मक नेतृत्वमा अहिलेसम्म महिलाले प्रमुख जिम्मेवारी पाएका छैनन् । यस्तो अवस्थामा कांग्रेसको नगर सभापतिमा अधिकारी निर्वाचित भए त्यसले निजगढको राजनीतिक नेतृत्वमा महिलाको सहभागिता र प्रतिनिधित्वका दृष्टिले समेत नयाँ सन्देश दिने देखिएको छ ।
यता, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहको निजगढ नगर अधिवेशन भने शुक्रबार हुने भएको छ । नगर सभापति पदमा सहमति जुट्न नसकेपछि केन्द्रीय कार्यतालिकाअनुसार गत असोज २० गतेका लागि तय गरिएको अधिवेशन अनिश्चित बनेको थियो । लामो समयदेखि सभापति पदका आकांक्षीबीच सहमतिको प्रयास भइरहे पनि निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार अधिवेशन गर्ने तयारी गरिएको हो ।
देउवा समूहबाट निजगढ नगर अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी पाएका अमिर लामाका अनुसार अधिवेशन शुक्रबार बिहान ११ बजेदेखि निजगढ–९ स्थित होटल राजमार्गमा सुरु हुनेछ । सभापति पदमा सहमति निर्माणका लागि आकांक्षीहरूबीच छलफल जारी रहेको र अहिलेसम्म भने कुनै निष्कर्ष ननिस्किएको लामाले जानकारी दिए ।
‘अन्तिम समयसम्म पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिनेछ,’ लामाले भने, ‘सहमति हुन नसके अधिवेशनको बन्द सत्रबाटै नयाँ नेतृत्व चयन गरिनेछ ।’
देउवा समूहबाट निजगढ नगर सभापतिका लागि हाल चार जना आकांक्षी मैदानमा देखिएका छन् । निजगढ नगरपालिका–१ का वडा अध्यक्ष मंगले लोप्चन, निजगढ–९ का खड्गराज मैनाली, निजगढ–५ की सीता अधिकारी र निजगढ–९ का प्रदीपकुमार उप्रेतीले सभापति पदमा दाबी गर्दै आएका छन् ।
लोप्चन र उप्रेतीले कांग्रेस संस्थापन पक्षको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएर नगर सभापतिका लागि दाबी अघि बढाएका हुन् । उनीहरू करिब दुई साताअघि भएको संस्थापन पक्षको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए । नगर सभापतिको प्रतिस्पर्धामा जाने तयारीसँगै दुवैले क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएका हुन् ।
अर्कोतर्फ, खड्गराज मैनाली र सीता अधिकारी भने कांग्रेस सभापति गगन थापा पक्षधर समूहले आयोजना गरेको विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताका रूपमा देउवा समूहमा सक्रिय रहँदै आएका छन् । यही पृष्ठभूमिका कारण संस्थापन पक्षमा उनीहरूको दाबीलाई पनि बलियो रूपमा हेरिएको छ ।
सभापति पदमा सहमति जुटाउन चारै जना आकांक्षीबीच यसअघि पटक–पटक छलफल भए पनि ती छलफल निष्कर्षविहीन बनेका छन् । आकांक्षीहरूबीच सहमति जुटाउन नेतृत्व तहबाट समेत प्रयास हुँदै आए पनि एकभन्दा बढी आकांक्षीले आफ्नो दाबी नछाडेपछि नगर समिति चयन प्रक्रिया जटिल बन्दै गएको हो ।
देउवा समूहभित्र सभापतिका लागि चार जनाको दाबी रहे पनि पछिल्लो समय सीता अधिकारीको नामलाई महिला नेतृत्वको विकल्पका रूपमा अघि सार्ने प्रयासले अधिवेशनलाई थप रोचक बनाएको छ । अधिकारी सभापति बनेमा निजगढ कांग्रेसको संस्थापन पक्षले पहिलो पटक नगर नेतृत्वमा महिलालाई जिम्मेवारी दिएको इतिहास बन्नेछ ।
यद्यपि अन्तिम निर्णय सहमतिबाट हुन्छ वा निर्वाचनमार्फत भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । संयोजक लामाले अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहने बताए पनि सहमति नजुटे बन्द सत्रबाटै नेतृत्व चयन गर्ने तयारी छ ।
शुक्रबार हुने अधिवेशनले देउवा समूहको निजगढ नगर कार्यसमितिको नेतृत्वसँगै नगर कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक गतिविधिमा समेत प्रभाव पार्ने देखिएको छ । विशेषगरी सभापति पदमा चार जनाको दाबी र महिला नेतृत्वको सम्भावनाले यस पटकको निजगढ नगर अधिवेशनलाई स्थानीय कांग्रेस वृत्तमा चासोको विषय बनाएको छ ।



