निजगढ । निजगढ नगरपालिका वडा नम्बर ९ कार्यालयले वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा उनीहरूलाई घर, कोठा, फ्ल्याट वा अन्य आवास भाडामा उपलब्ध गराउने घरधनीको विवरण दर्ता तथा अभिलेखीकरण गर्न आग्रह गरेको छ।
वडा कार्यालयले विभिन्न स्थानबाट निजगढ–९ मा आएर व्यापार, व्यवसाय, अध्ययन, रोजगारी, सेवा, संघसंस्था, वित्तीय संस्था तथा अन्य प्रयोजनका लागि अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिहरूको विवरण संकलन गर्न लागेको हो। विशेषगरी घर, कोठा वा फ्ल्याट भाडामा लिएर बस्दै आएका व्यक्तिहरू तथा त्यस्ता व्यक्तिलाई आवास उपलब्ध गराउने घरधनीलाई आफ्नो तथा भाडामा बस्ने व्यक्तिको विवरण यथाशीघ्र वडा कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ।
वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीका अनुसार वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने नागरिकको यथार्थ तथ्याङ्क अद्यावधिक गर्नु शान्ति सुरक्षा, विपद् व्यवस्थापन, आपत्कालीन उद्धार तथा आवश्यक सार्वजनिक सेवा प्रवाहका दृष्टिले महत्वपूर्ण छ। वडामा को–को व्यक्ति कुन प्रयोजनका लागि बसोबास गरिरहेका छन् भन्ने यथार्थ विवरण उपलब्ध हुँदा विपद् वा अन्य आपत्कालीन अवस्थामा खोज, उद्धार तथा आवश्यक सहयोग पुर्याउन सहज हुने उहाँले बताउनुभयो।
वडा कार्यालयका अनुसार घरधनीले आफ्नो घर, कोठा वा फ्ल्याट भाडामा लिएर बस्ने व्यक्तिको नाम, स्थायी ठेगाना, परिचयपत्रको विवरण, सम्पर्क नम्बर र बसोबासको प्रयोजन खुल्ने विवरण वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ। अध्ययन, रोजगारी, व्यापार व्यवसाय वा अन्य कुनै प्रयोजनका लागि अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरूले समेत आवश्यक विवरण उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी, कुनै घर, कोठा वा फ्ल्याटमा नयाँ व्यक्ति भाडामा आएमा वा भाडामा बस्दै आएको व्यक्ति अन्यत्र गएमा घरधनीले यथाशीघ्र वडा कार्यालयलाई जानकारी गराई अभिलेख अद्यावधिक गर्नुपर्नेछ। यसले वडाभित्र अस्थायी बसोबास गर्ने व्यक्तिको तथ्याङ्कलाई नियमित रूपमा अद्यावधिक राख्न सहयोग पुग्ने वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले घर बहाल तथा जग्गा बहालसम्बन्धी सम्झौता सम्बन्धित पक्षहरूको उपस्थितिमा वडा अध्यक्ष तथा वडा सदस्यको रोहवरमा प्रचलित कानुनबमोजिम गर्नुपर्ने जनाएको छ। बहाल सम्झौता तथा विवरण दर्ताका क्रममा वडा कार्यालयले आवश्यक ठानेका परिचय खुल्ने कागजात तथा अन्य विवरणसमेत उपलब्ध गराउनुपर्नेछ।
वडा कार्यालयले उक्त विवरण संकलनलाई कुनै एक समूह वा समुदायमा मात्र सीमित नराखी वडा नम्बर ९ मा विभिन्न स्थानबाट आएर अस्थायी रूपमा बसोबास गरिरहेका सम्पूर्ण व्यक्ति र उनीहरूका घरधनीलाई समेट्ने जनाएको छ। शान्ति सुरक्षा, विपद् तथा आपत्कालीन व्यवस्थापनसँगै सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन विवरण दर्ता आवश्यक भएकाले सम्बन्धित सबैलाई सहयोग गर्न वडा कार्यालयले अनुरोध गरेको छ।




