राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निजगढ नगरपालिकाको नगरप्रमुख (मेयर) पदका लागि जितकुमार दाहालको नाम चर्चामा आएको छ। निजगढ नगरपालिका–११, रतनपुरका स्थानीय दाहालले आफ्नो शैक्षिक योग्यता, अर्थतन्त्र तथा पुँजीबजार क्षेत्रको व्यावसायिक अनुभवलाई स्थानीय विकास र सुशासनसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुखको जिम्मेवारीका लागि आफ्नो आकाङ्क्षा सार्वजनिक गरेका छन्।

रतनपुरमै जन्मिएर हुर्किएका दाहालले प्रारम्भिक तथा विद्यालय शिक्षा आफ्नै गाउँबाट पूरा गरेका हुन्। थप अध्ययनका लागि काठमाडौं पुगेका उनले पशुपति क्याम्पस, चाबहिलबाट कक्षा १२ उत्तीर्ण गरेका थिए। त्यसपछि नेपाल कमर्स क्याम्पस, मीनभवनबाट वाणिज्यशास्त्रमा स्नातक (बीबीएस) र स्नातकोत्तर (एमबीएस) अध्ययन पूरा गरेका छन्। उनले कानुन विषयमा स्नातक (एलएलबी) समेत अध्ययन गरिरहेका छन्।

दाहाल लामो समयदेखि नेपाली पुँजीबजार र अर्थतन्त्रको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। तथ्याङ्क, विश्लेषण र आर्थिक सूचनासँग नजिक रहेर काम गरेको आफ्नो व्यावसायिक अनुभवलाई उनले स्थानीय तहको योजना निर्माण र विकास प्रक्रियामा उपयोग गर्ने बताएका छन्।

उनका अनुसार कुनै पनि योजना प्रभावकारी बनाउन तथ्यमा आधारित निर्णय आवश्यक हुन्छ। वास्तविक अवस्था र आवश्यकताको पहिचान नगरी बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसक्ने उनको धारणा छ। त्यसैले निजगढको विकासलाई योजनाबद्ध, पारदर्शी र तथ्याङ्कमा आधारित बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

दाहालले निजगढ नगरपालिकाको वास्तविक जनसङ्ख्या, किसान तथा विद्यार्थीको सङ्ख्या, बेरोजगार युवाको अवस्था, वैदेशिक रोजगारीमा रहेका नागरिकको विवरण र नगरभित्र उपलब्ध स्रोतसाधनको यथार्थ अवस्थासम्बन्धी तथ्याङ्क व्यवस्थित हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार स्थानीय तहमा उपलब्ध तथ्याङ्क अपूर्ण हुँदा वास्तविक आवश्यकता पहिचान गर्न र प्रभावकारी योजना बनाउन कठिनाइ भइरहेको छ।

नगरपालिकाको बजेट तथा विकास योजनालाई हचुवाका भरमा नभई वास्तविक आवश्यकता र तथ्याङ्कका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ। विशेषगरी युवाको विदेश पलायनलाई रोक्दै उनीहरूको ज्ञान, सीप र क्षमतालाई स्थानीय स्तरमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताएका छन्।

युवाको विदेश पलायनलाई ‘ब्रेन ड्रेन’ बाट ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने अवधारणासहित निजगढमा उपलब्ध जनशक्ति, स्रोतसाधन र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने उनको जोड छ। त्यसका लागि तथ्याङ्क सङ्कलन, विश्लेषण र दीर्घकालीन योजनालाई नगर विकासको आधार बनाउनुपर्ने उनले बताएका छन्।

अर्थशास्त्र र कानुन विषयको अध्ययन तथा पुँजीबजार र अर्थतन्त्र क्षेत्रको अनुभवलाई स्थानीय विकासमा प्रयोग गर्ने उद्देश्यसहित आफू नगरवासीको सेवक बनेर अघि बढ्न चाहेको दाहालले बताएका छन्। उनले निजगढलाई तथ्याङ्कमा आधारित, आधुनिक र पारदर्शी नगर बनाउने आफ्नो अवधारणामा स्थानीयवासीको साथ, विश्वास र सुझावको अपेक्षासमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय