निजगढ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर अधिवेशनमा नगर सभापतिसहित पदाधिकारीहरू सर्वसम्मत चयन हुने सम्भावना बलियो बनेको छ। नगर सभापतिका लागि उम्मेदवारी दिएका ज्ञानबहादुर गोले सर्वसम्मत सभापति बन्ने लगभग निश्चित भएको कांग्रेस स्रोतले जनाएको छ।

नगर सभापतिका अर्का प्रत्यासी सूर्य घलानले उम्मेदवारी फिर्ता लिने सहमति गरेपछि गोले सर्वसम्मत सभापति बन्ने अवस्था बनेको हो। उम्मेदवारी फिर्ता लिन सहमति भएको विषयमा घलानले निजगढ न्युजसँगको कुराकानीमा समेत पुष्टि गरेका छन्।

घलानले सहमतिबाट नेतृत्व चयन गर्ने परिस्थिति बनेपछि आफूले उम्मेदवारी फिर्ता लिएर सहमतिको मार्ग प्रशस्त गरेको बताए। “अब यस्तो भयो, फिर्ता भन्दा पनि सहमतिबाट जानुपर्ने भयो। त्यसै भएर सहमतिका लागि सहज हुन्छ भने किन नगर्ने भनेर मैले मार्ग प्रशस्त गरेको हुँ,” घलानले भने।

सभापतिसँगै अन्य पदाधिकारीमा पनि सहमति जुटाउने प्रयास भइरहेको कांग्रेस स्रोतले जनाएको छ। स्रोतका अनुसार उपसभापति पदमा बुद्धिमान शाही र चुडाबहादुर आचार्यबीच सहमति हुन बार्की छ।

महिला उपसभापतिमा रुपा घलानले उम्मेदवारी फिर्ता लिने सहमति गरेपछि सोपिला स्याङ्तान सर्वसम्मत हुने लगभग निश्चित भएको स्रोतले जनाएको छ।

त्यस्तै, सचिव पदमा स्वर्ण लामालाई सर्वसम्मत चयन गर्ने सहमति बनेको बताइएको छ। सचिवका अर्का प्रत्यासी उदयराज पाण्डेले पनि आफ्नो मनोनयन फिर्ता लिने सहमति भएको कांग्रेस स्रोतको दाबी छ।

सहसचिव पदमा पनि सहमतिको वातावरण बनेको छ। सहसचिवका प्रत्यासी निमा लामाले मनोनयन फिर्ता लिएपछि मीना चारेल सर्वसम्मत हुने स्रोतले जनाएको छ।

यसअघि नै नगर कार्यसमितिका सदस्यहरू भने सर्वसम्मत चयन भइसकेका छन्। पदाधिकारीमा समेत सहमति जुटे कांग्रेस निजगढ नगर अधिवेशनबाट सभापतिसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन हुनेछन्।

यद्यपि निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूले औपचारिक रूपमा मनोनयन फिर्ता लिन भने बाँकी रहेको स्रोतले जनाएको छ। केही समयभित्र सम्बन्धित उम्मेदवारहरूले मनोनयन फिर्ता लिएपछि नयाँ नगर कार्यसमितिको नाम औपचारिक रूपमा घोषणा गरिने तयारी रहेको बताइएको छ।

मनोनयन फिर्ताको औपचारिक प्रक्रिया पूरा भएपछि मात्र सभापति तथा पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय