नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा समूहबाट निजगढ नगर सभापतिका लागि चर्चामा रहेका युवा नेता खड्गराज मैनाली सभापतिको दौडबाट बाहिरिएका छन। गगन थापा समूहबाट बाहिरिएका नेताहरूलाई देउवा समूहमा स्थान दिँदै सभापति पदमा दाबी गर्न थालेपछि आफूले उम्मेदवारीको सम्भावना समाप्त गरेको मैनालीले बताएका छन।

देउवा समूहबाट निजगढ नगर सभापतिका लागि मैनालीलाई अघि सार्ने प्रयास गरिएको थियो। समूहका संयोजक अमिर लामाले समेत उनलाई सभापति बन्न आग्रह गरेको बताइएको छ। तर, अधिवेशन नजिकिँदै जाँदा सभापति पदका लागि विभिन्न नेताहरूको नाम चर्चामा आउन थालेपछि मैनालीले आफ्नो दाबीबाट पछि हट्ने निर्णय गरेका हुन।

निजगढ नगर सभापतिका लागि निजगढ नगरपालिका–१ का वडाध्यक्ष मंगले लोप्चन, निजगढ–९ का खड्गराज मैनाली, निजगढ–५ की सीता अधिकारी र निजगढ–९ कै प्रदीपकुमार उप्रेतीको नाम चर्चामा थियो। यीमध्ये मंगले लोप्चन र प्रदीपकुमार उप्रेती गगन थापा समूहबाट महाधिवेशन प्रतिनिधि बनेका हुन भने सीता अधिकारी सुरुदेखि नै देउवा समूहमा आबद्ध थिइन।

मैनाली भने देउवा समूहबाट सभापतिका लागि प्रस्ताव गरिएका व्यक्ति भए पनि उक्त समूहको अधिवेशनमा सहभागी नहुने बताए। देउवा समूहबाट सभापतिको जिम्मेवारी सम्हाल्न गरिएको आग्रहसमेत उनले तत्काल स्वीकार गरेका थिएनन्। पछिल्लो समय सभापति पदका लागि अन्य नेताहरूको दाबी बलियो हुँदै गएपछि भने उनले दुवै समूहका कार्यक्रममा सहभागी नहुने निर्णय लिएका छन।

मैनालीका अनुसार आफूले सुरुदेखि नै पद प्राप्तिलाई राजनीतिको मुख्य उद्देश्य थिएन। पार्टीमा लामो समय योगदान गरेका, तर पछिल्लो समय उपेक्षामा परेका नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उनले बताए। यही कारण आफूलाई सभापति बन्न आग्रह गरिँदा पनि उनले निर्णय लिन समय लगाएका थिए।

उनले आफूलाई सभापति पदको प्रस्ताव आउँदा पार्टीभित्र इमानदारीपूर्वक योगदान गरेका व्यक्तिहरूलाई समेत समेटेर संगठन निर्माण गर्नुपर्नेमा जोड दिएको बताए। तर, सभापति पदको चर्चा बाहिरिएसँगै विभिन्न नेताहरूले पदका लागि समूह परिवर्तन गर्दै दाबी प्रस्तुत गर्न थालेको उनको बुझाइ छ।

‘पदका लागि जुनसुकै हदसम्म जान सक्ने साथीहरूका कारण मैले गत बुधबारदेखि नै सभापतिको दौडमा नरहेको स्पष्ट पारिसकेको छु। यो विषयलाई मैले त्यही बेला समाप्त गरिसकेको हुँ,’ मैनालीले भने, ‘मलाई त सभापतिको पद किस्तीमै राखेर प्रस्ताव गरिएको थियो। तर, अहिले सभापतिको चर्चामा रहेका साथीहरू त्यतिबेला हामीलाई कसरी कमजोर बनाउने भन्ने खेलमा थिए। अहिले तिनै साथीहरूलाई सभापतिको पद चाहिएको छ।’

उनले आफू सभापति बन्नेभन्दा पनि पार्टीमा योगदान गरेका र विभिन्न कारणले नेतृत्वबाट उपेक्षित भएका नेता तथा कार्यकर्तालाई समेट्ने पक्षमा रहेको बताए। उनका अनुसार गगन थापा समूहमा रहँदा बेवास्ता गरिएका व्यक्तिहरूलाई एकीकृत गरेर अघि बढाउने उद्देश्यले आफूले देउवा समूहबाट आएको प्रस्तावमाथि विचार गरेको थियो।

‘हामीले गगन समूहबाट हेपिएका, हिजो नेपाली कांग्रेसका लागि योगदान गरेका तर अहिले बेवास्ता गरिएका साथीहरूलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने थियो। तर, फेरि राम्रोभन्दा हाम्रो भन्ने प्रवृत्ति देखियो। त्यसैले मैले दुवै पक्षका कार्यक्रममा नजाने निर्णय गरेको हुँ,’ मैनालीले भने।

मैनालीले सभापति पदमा दाबी नगर्ने निर्णय लिएसँगै देउवा समूहभित्र निजगढ नगर सभापतिको प्रतिस्पर्धाले नयाँ मोड लिएको छ। गगन थापा समूहबाट आएका नेताहरूको दाबी र देउवा समूहभित्रैबाट नेतृत्व चयन गर्नुपर्ने विषयले आन्तरिक समीकरणमा प्रभाव पारेको देखिन्छ।

मैनाली सभापतिको दौडबाट बाहिरिएपछि निजगढ–५ की सीता अधिकारीको सम्भावना बलियो बनेको छ। उनी सुरुदेखि नै देउवा समूहमा आबद्ध रहेकीले पनि अहिले देउवा समूहबाट सभापति बन्ने सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएकी छन।

यद्यपि, सभापति पदमा अन्तिम सहमति कसको पक्षमा जुट्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। मंगले लोप्चन र प्रदीपकुमार उप्रेतीको दाबी तथा सीता अधिकारीको सम्भावनाबीच देउवा समूहले कसलाई नेतृत्वमा अघि सार्छ भन्ने विषयले निजगढ कांग्रेसको आन्तरिक राजनीतिलाई थप रोचक बनाएको छ।

पदाधिकारी चयनको प्रक्रियामा समूहगत समीकरण, पुराना नेता तथा कार्यकर्ताको व्यवस्थापन र नेतृत्वप्रतिको असन्तुष्टिले कस्तो प्रभाव पार्छ भन्ने चासोसमेत बढेको छ। मैनालीको बहिर्गमनले भने निजगढ नगर सभापतिको प्रतिस्पर्धामा एउटा महत्त्वपूर्ण दाबेदारको सम्भावना समाप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय