राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) बाराले निजगढ नगरपालिका-४ को तदर्थ समिति गठनसम्बन्धी जिम्मेवारी फिर्ता लिएपछि नेकपा एमाले नेतृ यमकुमार सापकोटा ‘सरिता’ ले आफूले एमाले परित्याग नगरेको स्पष्ट पारेकी छिन।

रास्वपाले उनलाई वडा अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएको विषय सार्वजनिक भएसँगै स्थानीय तहमा विवाद चर्किएको थियो। त्यसको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सापकोटाले आफू रास्वपामा प्रवेश गरेको भन्ने हल्ला असत्य भएको बताएकी हुन।

उनले रास्वपा निजगढ नगर समितिसँग आफ्नो कुनै औपचारिक छलफल नभएको दाबी गरेकी छिन। ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको भन्ने विषयमा नगर समितिसँग कुनै औपचारिक संवाद भएको छैन,’ उनले लेखेकी छन।

सापकोटाका अनुसार केही समयअघि रास्वपाको केन्द्रीय समितिसमक्ष आफ्ना विचार राखिएको आधारमा पार्टीका केही नेताले आफूलाई जिम्मेवारी दिएका रहेछन। तर, उक्त निर्णयबारे आफूलाई कुनै जानकारी नदिइएको उनको भनाइ छ। ‘मलाई कतैबाट पनि जानकारी नदिई जिम्मेवारी तोकिएको रहेछ,’ उनले फेसबुकमा उल्लेख गरेकी छन।

एमाले बारा जिल्ला कमिटी सदस्यसमेत रहेकी सापकोटालाई रास्वपाले निजगढ नगरपालिका-४ को वडा अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएको सूचना बाहिरिएपछि पार्टीभित्रै असन्तुष्टि बढेको थियो। रास्वपाका स्थानीय कार्यकर्ताले अर्काे दलमा आबद्ध व्यक्तिलाई संगठनात्मक जिम्मेवारी दिइएको भन्दै विरोध जनाएका थिए।

स्थानीय तहबाट विरोध आएपछि रास्वपा जिल्ला संगठन निर्माण समितिले निर्णय परिवर्तन गर्दै सापकोटालाई जिम्मेवारीबाट हटाएको थियो। उनको स्थानमा सविना विष्टलाई जिम्मेवारी दिइएको जनाइएको छ।

सापकोटाले आफू लामो समयदेखि निजगढको विकास, सामाजिक सेवा र जनहितका काममा सक्रिय रहेको उल्लेख गर्दै अनावश्यक टिप्पणी र भ्रम फैलाउने गतिविधि नगर्न आग्रह गरेकी छिन।

यस घटनापछि रास्वपाको संगठन विस्तार प्रक्रिया र नेतृत्व छनोट शैलीबारे स्थानीय तहमा प्रश्न उठ्न थालेका छन। पर्याप्त आन्तरिक समन्वय र छलफलविना निर्णय गर्दा पार्टीभित्र विवाद बढेको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय