निजगढ, निजगढ नगरपालिका वडा नं. ६ कार्यालयले वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिहरूको विवरण अनिवार्य रूपमा दर्ता गराउन सम्बन्धित घरधनी तथा घरभाडामा बस्नेहरूसंग आग्रह गरेको छ ।
वडा कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै वडाभित्रका विभिन्न स्थानबाट आएर अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूको विवरण १५ दिनभित्र अनिवार्य रूपमा दर्ता तथा अभिलेखीकरण गराउन अनुरोध गरेको हो ।
वडा अध्यक्ष घनश्याम तिमिल्सिनाद्वारा हस्ताक्षरित सूचनामा घर, कोठा वा फ्ल्याट भाडामा दिने सम्पूर्ण घरधनीलाई भाडामा बस्ने व्यक्तिको पूरा नाम, स्थायी ठेगाना, आधिकारिक परिचयपत्रको प्रतिलिपि, सम्पर्क नम्बर र बसोबासको प्रयोजन खुल्ने विवरण वडा कार्यालयमा बुझाउन भनिएको छ ।
वडाभित्र शान्ति सुरक्षा बलियो बनाउने, विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने र नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवाहरू व्यवस्थित गर्ने उद्देश्यले विवरण संकलन गर्न लागिएको सूचनामा उल्लेख छ ।
त्यसैगरी, घरमा नयाँ भाडावाला आएमा वा पहिले बसेका व्यक्ति अन्यत्र सरेमा घरधनीले तत्काल वडा कार्यालयलाई जानकारी गराई विवरण अद्यावधिक गर्नुपर्ने पनि भनिएको छ ।
घरबहाल तथा जग्गा बहालसम्बन्धी सम्झौता गर्दा सम्बन्धित दुवै पक्षको उपस्थितिमा वडा अध्यक्ष तथा वडा सदस्यहरूको रोहवरमा प्रचलित कानुनबमोजिम सम्झौता व्यवस्थित गर्नसमेत सूचनामार्फत आग्रह गरिएको हो ।
वडा कार्यालयले विवरण दर्ता तथा अभिलेखीकरणका क्रममा माग गरिएका परिचय खुल्ने आधिकारिक कागजात र अन्य आवश्यक विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित सबै घरधनी तथा सरोकारवालालाई अनुरोध गरेको छ ।



