बडादसैँको अवसरमा परम्परागत नेपाली संस्कृतिको संरक्षण तथा सर्वसाधारणको मनोरञ्जनलाई ध्यानमा राख्दै नेपाली सेनाले बाराको निजगढ नगरपालिकामा लिङ्गे पिङ स्थापना गरेको छ।
नेपाली सेनाले निजगढ नगरपालिका-८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको पुरानो खुला मैदानमा दसैँलाई लक्षित गरी लिङ्गे पिङ निर्माण गरेको हो। दसैँको सांस्कृतिक परम्पराका रूपमा रहेको पिङ खेल्ने चलनलाई निरन्तरता दिने र स्थानीयवासीलाई चाडपर्वको रमाइलो अनुभूति गराउने उद्देश्यले पिङ निर्माण गरिएको हो।
रिपुमर्दन गण, ब्रह्मपुरी ब्यारेक, बाराका गणपति प्रमुख सेनानी गिरिराज गौतमको उपस्थितिमा नेपाली सेनाले पिङ निर्माण गरेको हो। सर्वसाधारणले प्रयोग गर्न पाउने गरी स्थापना गरिएको पिङले दसैँको समयमा स्थानीय बासिन्दा, बालबालिका तथा युवायुवतीलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली समाजमा दसैँका बेला गाउँघर तथा सार्वजनिक स्थानमा लिङ्गे पिङ हाल्ने परम्परा रहँदै आएको छ। विशेषगरी दसैँमा पिङ खेल्नुलाई चाडपर्वको महत्त्वपूर्ण सांस्कृतिक गतिविधिका रूपमा लिने गरिन्छ। पछिल्लो समय सहरीकरण, खुला स्थानको अभाव तथा परम्परागत गतिविधिमा कमी आउँदै जाँदा यस्ता मौलिक परम्पराको संरक्षण आवश्यक बन्दै गएको छ।
यसै सन्दर्भमा नेपाली सेनाले सार्वजनिक स्थानमा लिङ्गे पिङ स्थापना गर्नुले स्थानीयवासीलाई दसैँको उल्लासमा सहभागी हुन सहज बनाउनुका साथै परम्परागत संस्कृतिको संरक्षणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
दसैँको अवसरमा निर्माण गरिएको उक्त पिङबाट निजगढ तथा आसपासका क्षेत्रका सर्वसाधारणले मनोरञ्जन लिन सक्नेछन्। नेपाली सेनाको यस पहलले चाडपर्वका बेला समुदायसँगको सम्बन्ध थप सुमधुर बनाउन र नेपाली मौलिक संस्कृतिको निरन्तरतामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
निजगढमा रहेका भूतपूर्व सैनिकहरूको सुझाव तथा आग्रहमा नेपाली सेनाले निजगढमा पिङ निर्माण गरेको हो।




