निजगढ, वार्षिक साधारणसभाको अवसरमा बाराको निजगढनगरपालिका– ९ स्थित सेवा–शुभारम्भ बचत तथा ऋृण सहकारी संस्थाले शेयर सदस्यहरुको आज निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
संस्थाले १६ औँ साधारणसभाको अवसरमा लायन्स क्लब अफ निजगढ सिटीको सहकार्यमा संचालन गरेको स्वास्थ्य शिविरमा शेयर सदस्यहरुको रक्तचाप, मधुमेह र अल्बोमिनलगायत समस्याको परीक्षण गरेको हो । शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको सहकारी संस्थाका उपाध्यक्ष निर्मल भण्डारीले जानकारी दिनुभयो ।

निजगढ ८ स्थित शुभकार्य बैङ्गकुटमा यसअघि भएको वार्षिक साधारण सभाको बन्द सत्रमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मणिश्वर घिमिरे, सचिव मनोज रेग्मी, कोषाध्यक्षको तर्फबाट सावित्री बरालले छुट्टाछुट्टै प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार निजगढका २ वटा सहकारी संस्थाबीच एकीकरणपछिको पहिलो वर्षमा १४ करोड ८३ लाख १६ हजार १ सय २५ रुपैयाँ २१ पैसा कारोबार गरेको संस्थाले यस वर्ष २९ करोड १२ लाख ५७ हजार ७ सय ५२ रुपैयाँ ७५ पैसा कारोबार गरेको छ ।

निजगढकै सेवा र शुभारम्भ सहकारी संस्थाबीचको एकीकरणपछि ०६७ बाट सेवा–सुभारम्भ सहकारी संस्था संचालन हुदै आएको छ ।

संस्थाको सेयर पुँजी २ करोड ८४ लाख ३ हजार ३ सय रुपैयाँ, बचत तथा निक्षेप २३ करोड ४६ लाख ८७ हजार २ सय ७९ रुपैयाँ २४ पैसा, ऋण लगानी १८ करोड ४४ लाख ७७ हजार ३ सय ५१ रुपैयाँ ३२ पैसा, कुल वासलात २८ करोड ७३ लाख ३४ हजार ७२ रुपैयाँ ७ पैसा तथा सदस्य संख्या ६ हजार ९१ पुगेको प्रतिवेदनमा जनाइएको छ ।

संस्थाले वेबसाइट तथा स्मार्ट एपमार्फत ई–केवाईसी, अनलाइन ऋण आवेदन, अनलाइन खाता खोल्ने सुविधा, अफलाइन बैंकिङ, विदेशबाट खाताको विवरण हेर्न सकिने र सदस्य सन्तुष्टि सर्वेक्षण तथा बिल भुक्तानीको सुविधा संचालन गर्दैैआएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व र सदस्य सुरक्षातर्फ खेलमा आधारित उद्यमी विकास तालिम, वृक्षारोपण, रतनपुर प्रहरी चौकीलाई सहयोग, घातक रोगबाट पीडित सदस्यलाई आर्थिक सहयोग, काजक्रिया खर्च, सुत्केरी पौष्टिक आहार तथा दुर्घटनामा मृत्यु भएका सदस्यको परिवारलाई राहत र बीमा दाबीबापतको रकमसमेत उपलब्ध गराउँदै आएको छ ।

अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको सो सभामा उपाध्यक्ष भण्डारीले स्वागत मन्तव्य र सदस्य भिमप्रसाद सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय