निजगढ,   पूर्वपश्चिम महेन्द्र राजमार्गको निजगढ– पथलैया सडकखण्डको उनासी पुलमा साइड दिने क्रममा छेउमा राकिएको ईभी गाडीलाई पछाडिबाट बसले ठक्कर दिँदा ईभी चालक घाइते भएका छन् ।

प्रहरीकाअनुसार निजगढबाट पश्चिमतर्फ जादै गरेको प्र.१–०१–००१ ख ४८६५ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म.प्र.०४–००१ ज ०१६० नम्बरको ईभी गाडीलाई राजमार्गको उनासी पुलको पूर्वी छेउमा आज बिहान ३ बजे पछाडिबाट ठक्कर दिदा अगाडिपट्टी रोकिएको अर्को बसमा ठोक्किदा ईभी चालक धनुषाको जनकपुर उपमहानगरपालिका– १६ निवासी ४१ वर्षीय ब्रह्मदेव मण्डल घाइते भएका हुन् ।

विपरित दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा पुलको छेउमा रोकिएको अवस्थामा बसको ठक्करपछि सो ईभी काँकडभिट्टाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३६५ नम्बरको अर्को बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ईभी चालक मण्डलको ढाडमा चोट लागेको छ । उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ईभीलाई ठक्कर दिने प्र.१–०१–००१ ख ४८६५ नम्बरको बस र त्यसका चालक झापाको कमल गाउँपालिका– ६ निवासी करिब ४७ वर्षीय डम्बरकुमार ताजपुरिया सकुशल रहेका छन भने ईभीको ठक्करबाट बा.प्र.०३–००१ ख १३६५ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।

बस र चालक ताजपुरियालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले नियन्त्रणमा राखेको छ ।

दुर्घटनापछि आवश्यक अनुसन्धान तथा व्यवस्थापनका लागि प्रहरी सहायक निरीक्षक राजेश्वरप्रसाद चौरसियाको कमान्डमा सात जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय