चाडपर्व नजिकिँदै जाँदा निजगढ नगरपालिकाका विभिन्न बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा तीन व्यवसायी कारबाहीमा परेका छन्। अनुगमन टोलीले निजगढ नगरपालिका-९ स्थित निसा ट्रेडस किराना थोक पसललाई ५० हजार रुपैयाँ तथा निजगढ नगरपालिका-८ मा रहेको तमागढी दुग्ध उद्योग र राधाकृष्ण डेरी उद्योग दूध डेरीलाई जनही २० हजार रुपैयाँका दरले कुल ९० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरहीन र अखाद्य सामग्रीसमेत फेला परेपछि जफत गरि नष्ट गरिएको जनाइएको छ।

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोग्य वस्तुको माग र उपभोक्ताको चाप बढ्न थालेपछि हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, अनुचित व्यापारिक क्रियाकलाप तथा म्याद गुज्रिएका खाद्यवस्तुको बिक्रीवितरण नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र पारिएको हो। चाडपर्वका समयमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, मिठाईलगायत दैनिक उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राखेर संयुक्त टोलीले बजारको स्थलगत निरीक्षण गरेको हो।

खाद्य तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय निजगढ, निजगढ नगरपालिका, निजगढ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघका प्रतिनिधि सहभागी संयुक्त टोलीले निजगढको शहीद चोक, बुद्ध चोकलगायतका बजार क्षेत्रमा अनुगमन गरेको थियो। टोलीले बजारमा सञ्चालनमा रहेका किराना पसल, होटल तथा रेस्टुरेन्ट, मिष्ठान्न भण्डार, दूध डेरी र खाद्य उद्योगको अवस्थाबारे निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक दर्ता तथा नवीकरणको अवस्था, उपभोक्ताले सहजै देख्ने गरी मूल्यसूची राखे–नराखेको, खाद्य सामग्रीको उत्पादन तथा उपभोग्य मिति, वस्तुको लेबल, भण्डारणको अवस्था र सरसफाइमा विशेष ध्यान दिइएको थियो। निरीक्षणका क्रममा केही व्यवसायमा व्यवसाय दर्ता तथा नवीकरण नभएको, मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको तथा सरसफाइमा कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ।

टोलीले बिक्रीका लागि पसलमा राखिएका म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरहीन र अखाद्य सामग्री जफत गरेको जनाएको छ। उपभोग्य मिति समाप्त भएका वस्तु बिक्रीका लागि राख्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले त्यस्ता सामग्रीको बिक्रीवितरण रोक्न व्यवसायीलाई निर्देशन दिइएको थियो। त्यस्तै, खाद्यवस्तु सुरक्षित र स्वच्छ वातावरणमा भण्डारण तथा बिक्री गर्न र पसलको सरसफाइमा विशेष ध्यान दिनसमेत व्यवसायीलाई सचेत गराइएको थियो।

अनुगमनका क्रममा भेटिएका कैफियतको प्रकृतिअनुसार व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिनुका साथै जरिवानासमेत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वीरगन्जका प्रमुख सुरेश कुमार सिंहले बताए। उनका अनुसार निजगढ नगरपालिका-९ मा स्थित निसा ट्रेडस किराना थोक पसललाई ५० हजार रुपैयाँ तथा निजगढ नगरपालिका-८ मा रहेको तमागढी दुग्ध उद्योग र राधाकृष्ण डेरी उद्योग दूध डेरीलाई जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यसरी तीन व्यवसायीबाट कुल ९० हजार रुपैयाँ जरिवाना गरिएको हो।

बजार अनुगमनका क्रममा व्यवसायीलाई व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न, उपभोक्ताले स्पष्ट देख्ने स्थानमा मूल्यसूची राख्न, म्याद गुज्रिएका सामग्री बिक्रीवितरण नगर्न र खाद्यवस्तुको गुणस्तर कायम राख्न निर्देशन दिइएको छ। व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन र उपभोक्ताको अधिकारलाई बेवास्ता नगर्नसमेत टोलीले सचेत गराएको छ।

चाडपर्वका बेला उपभोक्ताले गुणस्तरीय खाद्य सामग्री उचित मूल्यमा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने टोलीले जनाएको छ। बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्नु, उपभोक्ता ठगी रोक्नु र व्यवसायीलाई जिम्मेवार बनाउनु अनुगमनको मुख्य उद्देश्य रहेको जनाइएको छ।

उपभोक्ताले पनि सामान खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य र लेबल जाँच गर्न तथा म्याद गुज्रिएका वा गुणस्तरमा शंका लागेका सामग्री बिक्रीका लागि राखिएको पाइए सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेमा अनुगमनले जोड दिएको छ। चाडपर्वलाई लक्षित गरी गरिने यस्ता अनुगमनले बजारमा खाद्यवस्तुको गुणस्तर कायम राख्न र उपभोक्ताको हित संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय