निजगढ,     नेकपा (एमाले) को जनवर्गीय संगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले बाराको निजगढ नगरपालिकामा शुभकामना आदानप्रदान तथा संगठन सुदृढीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि फेडेरेसनका केन्द्रीय महासचिव खेम कार्कीले बडादसैँलगायत आसन्न चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आर्थिक, सामाजिक र राजनीतिक अभियानलाई जारी राखेर संगठन विस्तार तथा सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै रिटर्नी फेडेरेसन नेपालका संस्थापक उपाध्यक्ष रामकृष्ण घिमिरेले रिटर्नीहरुको अगुवाइमा संचालन गरिएको ’नवयुग कम्पनी’ र आयआर्जनका अन्य क्षेत्रहरुलाई पार्टीसँग जोडेर उपलब्धिमूलक र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुएको थियो ।

फेडरेशनका मधेस प्रदेश अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा अनेमसंघ मधेस प्रदेश अध्यक्ष अन्जु नेपालीले फेडेरेसनले छोटो समयमै प्रशंसनीय काम गरेको भन्दै टोल–टोलमा पुगेर लगानी र उत्पादन बढाउनुपर्ने बताउनुभएको थियो ।

एमाले मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले वैचारिक निष्ठा कायम राख्दै जनताको विश्वास पुनः प्राप्त गर्न समीक्षात्मक तयारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

भेलामा बोल्दै एमाले निजगढ नगर कमिटी अध्यक्ष तिलक घलानले एमालेमाथि घेराबन्दी र राजनीतिक आक्रमण बढेको उल्लेख गर्दै आगामी स्थानीय निर्वाचनका लागि स्पष्ट दृष्टिकोणसहित जनताको घरदैलोमा पुग्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य सुदर्शन कोइराला, प्रदेश सदस्य अम्बिका चौलागाईँ, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, एमाले पार्टी जिल्ला सदस्यहरू लक्ष्मी गौतम र मीना सुनार, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य तथा वडा नं ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, एमाले निजगढ नगर कमिटीका उपाध्यक्ष सम्झना लामिछाने, उपसचिव जगतकुमारी अधिकारी, प्रदेश सदस्य (रिटर्नी फेडेरेसन नेपाल) तथा निजगढ वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा, फेडेरेसनका प्रदेश सदस्य तथा वडा नं ७ का वडा अध्यक्ष टेकबहादुर लामा, रिटर्नी फेडेरेसन नेपाल बाराका संस्थापक सदस्य एवं निजगढ नगर कमिटी सदस्य मनोज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले फेडेरेसनलाई संख्यात्मकभन्दा गुणात्मक रूपमा बलियो बनाउँदै आगामी स्थानीय तहको चुनावीको तयारीमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय