नेपाली कांग्रेस निजगढ नगर अधिवेशनमा उपसभापति पदमा विवाद भएपछि सहमतिमा चयन गर्ने भनिएका नगर कार्यसमितिका पदाधिकारीहरूको नाम घोषणा हुन सकेको छैन। हिजोदेखि सुरु भएको नगर अधिवेशनले नगर सभापतिसहित सबै पदाधिकारी सर्वसम्मत चयन गर्ने सहमति बनेको भनिए पनि उपसभापति पदमा पुनः विवाद उत्पन्न भएपछि अधिवेशन अन्योलमा परेको हो।

स्रोतका अनुसार बुधबार राति अबेरसम्म भएको छलफलपछि नगर कार्यसमितिको नेतृत्वसहित पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने सहमति बनेको थियो। उक्त सहमतिअनुसार नगर सभापतिमा ज्ञानबहादुर गोले, उपसभापतिमा चुडाबहादुर आचार्य, महिला उपसभापतिमा सोपिला स्याङ्गतान, सचिवमा सुवर्ण लामा र सहसचिवमा उदयराज पाण्डेको नाममा सहमति जुटेको थियो।

तर बिहीबार बिहान उपसभापति पदका लागि प्रस्तावित चुडाबहादुर आचार्यको नाममा अर्को पक्षले आपत्ति जनाएपछि सहमति कार्यान्वयनमा समस्या आएको हो। उपसभापति पदमा विवाद भएपछि निर्वाचन समितिले सहमतिमा टुंगिएको भनिएका पदाधिकारीहरूको नाम औपचारिक रूपमा सार्वजनिक गर्न सकेको छैन।

निर्वाचन समितिका संयोजक मधुसुदन अधिकारीका अनुसार केही पदाधिकारीको नाममा अझै सहमति हुन बाँकी रहेकाले नाम सार्वजनिक गर्न ढिलाइ भएको हो। उनले सहमतिको प्रयास जारी रहेको र बाँकी विषय टुंगिएपछि नवनिर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गरिने बताए।

यसअघि नगर सभापति पदमा सहमति जुटाउन कांग्रेसका स्थानीय नेताहरूबीच पटक-पटक छलफल भएको थियो। नगर सभापतिका आकांक्षी सूर्य घलानलाई बारा क्षेत्र नम्बर १ ‘क’ को सभापति बनाउने सहमति भएपछि नगर सभापतिमा पूर्वउपसभापति ज्ञानबहादुर गोलेसहित अन्य पदाधिकारीलाई सर्वसम्मत चयन गर्ने वातावरण बनेको थियो।

नगर सभापति पदमा गोले र घलानबीच प्रतिस्पर्धाको सम्भावना देखिएपछि नेतृत्व चयन पेचिलो बनेको थियो। तर दुवै पक्षबीच सहमतिको प्रयासस्वरूप घलानलाई क्षेत्रीय सभापतिको जिम्मेवारी दिने र गोलेलाई नगर सभापतिमा सर्वसम्मत चयन गर्ने सहमति बनेपछि अधिवेशनबाट विवादरहित रूपमा नेतृत्व चयन हुने अपेक्षा गरिएको थियो।

तर अन्तिम चरणमा उपसभापति पदमै विवाद उत्पन्न भएपछि यसअघि बनेको सहमति कार्यान्वयनमा समेत प्रश्न उठेको छ। कांग्रेसको नगर अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेकाले अब पदाधिकारीहरूको नाम कहिले घोषणा हुन्छ भन्ने विषयमा कार्यकर्ताको चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय