निजगढ,     लगातारको वर्षासँगै निजगढ नगरपालिकाले नगर क्षेत्र भएर बहने बकैया, भमरा, बगर, धन्सार, भक्तलाल, भालु, बुड्जोर, गडवन, खयर र शक्ति खोलासहित खहरे तथा खोल्सी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आज एक सूचनामार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंले असोज ७ गते जारी गरेको ‘सतर्कताका अनुरोध’लाई आधार बनाउँदै सम्भावित विपद्को जोखिमबाट जोगिन पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन नगरबासीमा आग्रह गर्नुभएको हो ।

नगरपालिकाका अनुसार असोज ८ गतेदेखि १२ गतेसम्म मधेश प्रदेशसहित देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी, भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको छ । यस्तो मौसमका कारण बाढी, डुबान, पहिरो, भू–क्षय तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

निजगढ नगरपालिका क्षेत्र भएर बहने बकैया खोला, भमरा खोला, बगर खोला, धन्सार खोला, भक्तलाल खोला, भालु खोला, बुड्जोर खोला, गडवन खोला, खयर खोला र शक्ति खोला आसपासका क्षेत्रलाई विशेष जोखिमयुक्त क्षेत्रका रूपमा ध्यान दिन नगरपालिकाले आग्रह गरेको छ ।

त्यस्तै, नगरपालिकाका विभिन्न वडामा रहेका खहरे तथा खोल्सी आसपास, खोला किनार, पहिरो जान सक्ने स्थान र भू–क्षयको जोखिम रहेका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ ।

नगरपालिकाले हाल निजगढ क्षेत्रमा समेत वर्षा भइरहेको जनाउँदै नगरवासीलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । साथै, टोल, बस्ती, वडा तथा समुदायस्तरमा आवश्यक सतर्कतासहित पूर्वतयारी गर्न र सम्भावित विपद्को अवस्थामा प्रतिकार्यका लागि तयार रहन अनुरोध गरिएको छ ।

सम्भावित जोखिमका विषयमा आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सही र तथ्यपरक सूचना मात्र आदानप्रदान गर्न पनि नगरपालिकाले आग्रह गरेको छ। विपद्को जोखिम वा कुनै आपत्कालीन अवस्था देखिएमा नजिकको वडा कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेपछि नगरपालिकाले आवश्यक सुरक्षा सतर्कताको लागि आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय