निजगढ, नेपाली काँग्रेसको १५औं अधिवेशनमा निजगढ नगरको सभापतीको लागि सूर्य घलालले उम्मेदवारी घोषणा गर्नुभएको छ । निजगढ ९ स्थित होटल राजमार्गमा आज पत्रकार सम्मेलनमार्फत घलानले निजगढ नगर सभापतीमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा घलानले १३ बुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गर्नुभएको छ । घलानले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा कार्यकर्ताको सम्मान र संरक्षणको लागि हरेक क्रियाशील सदस्य तथा कांग्रेस कार्यकर्ताको भावना र योगदानको सम्मान गर्ने, वडा तहदेखि संगठन सुदृढीकरणको लागि नगरका सबै वडामा नियमित संगठनात्मक गतिविधि सच्चालन गरी पार्टी संरचनालाई सक्रिय बनाउने, युवा सहभागिता र नेतृत्व विकासमा युवालाई अवसर, जिम्मेवारी र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रममा प्राथमिकता दिने जनाउनुभएको छ ।
त्यसैगरी पार्टी संगठनमा महिला सहभागिता बढ़ाउन पार्टीका हरेक गतिविधि र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र महिलाको नेतृत्व तथा क्षमता विकासको लागि वडाहरुमा कार्यक्रम सच्चालन गर्ने, पार्टीभित्र एकता र सहकार्यको लागि गुट उपगुटभन्दा माथि उठेर सबै कांग्रेसजनलाई एउटै संगठनात्मक भावनामा जोडने बताउनुभएको छ । अग्रजहरुको मार्गदर्शन तथा युवाको ऊर्जा र नयाँ सोचलाई एक ठाउँमा ल्याउने पनि उहाँको प्रतिबद्धता पत्रमा जनाइएको छ ।
त्यसैगरी नगरवासीका समस्या र आवश्यकतालाई पार्टीको एजेन्डासँग जोड्दै स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने, कार्यकर्ताका लागि नियमित राजनीतिक, संगठनात्मक तथा नेतृत्व विकास प्रशिक्षण सच्चालन गर्ने र नेपाली कांग्रेस निजगढ नगरको भातृ तथा शुभेच्छुक संस्था तरुण, नेपाल विद्यार्थी संघ महिला संघ, किसान संघ र दलित संघसंग समन्वय गर्ने तथा विदेशमा रहेका क्रियाशील सदस्यहरुको सुझाव संकलन गर्न अनलाइनबाट सम्पर्क गरेर हरेक तिन महिनामा जुम मिटिङमार्फत सुझाव लिएर काम गर्ने पनि उल्लेख गर्नुभएको छ ।
प्रतिबद्धता पत्रमा हरेक वडा र टोलसम्म संगठन विस्तार गरी नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा थप मजबुत र लोकप्रिय मतसहित विजयी बनाउने आधार तयार गर्ने र आगामी पाँच वर्षभित्र पार्टी कार्यालयको जग्गा व्यवस्थापन गरी पार्टी कार्यालय खोल्ने तथा पार्टीमा निरन्तर योगदान पु¥याउदै आएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ सदस्य तथा अग्रजहरुलाई सम्मान गर्ने र उनीहरुको अनुभव, ज्ञान र योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले नियमित रुपले ‘ज्येष्ठ कांग्रेसजन’ सम्मान कार्यक्रम सच्चालन गर्ने पनि पत्रमा जनाइएको छ ।
कार्यक्रममा बोल्दै घलानले आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको र सहमति हुन नसके छुट्टै प्यानल बनाएर चुनाव लड्ने बताउनुभएको छ । ‘नगर समितिको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिनुपर्छ भन्ने मेरो धारणा छ, उहाँले भन्नुभयो, त्यसो हुन नसके लोकतान्त्रिक विधिअनुसार प्यानल नै बनाएर निर्वाचनमा सरिक भइन्छ ।’
नगर सभापती पदका आकांक्षी घलान नेपाली कांग्रेस निकट नेपाल तामाङ्ग संघ मधेस प्रदेश सभापती हुनुहुन्छ भने निजगढ नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पनि हुनुहुन्छ । घलान वडा अध्यक्ष पदमा लगातार २ कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।
वडा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको काँग्रेस निजगढमा घलानको उम्मेदवारीले नगर सभापतीमा भने प्रतिस्पर्धा हुने देखिएको छ । नगर सभापती पदमा ज्ञानबहादुर गोले, भाइकाजी श्रेष्ठले पनि दाबी गर्दैआउनुभएको छ । सभापती पदमा निजगढका १३ वटै वडाका ३३० जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्ने छन ।
यसअघि हिजो र आज भएको अधिवेशनबाट निजगढका १३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । काँग्रेस नगर सभापती नवराज तिमल्सिनाका अनुसार वडा अधिवेशनले वडा नम्बर १ को सभापतीमा बुद्ध लोप्चन, वडा नम्बर २ मा रमेश पुलामी, वडा नम्बर ३ को सभापतीमा अर्जुन डासेली, ४ को सभापतीमा बासु चौधरी र वडा नम्बर ५ को सभापतीमा दुर्गा दहाल सर्वसम्मत चयन हुनुभएको हो ।
त्यसैगरी वडा नम्बर ६ को सभापतीमा मोहन सापकोटा वडा नम्बर ७ को सभापतीमा चन्द्रिका पुलामी मगर र वडा नम्बर ८ को सभापतीमा रमेश लामा सहित पदाधिकारीहरु पनि सर्वसम्मत चयन भएका छन ।
त्यस्तै अधिवेशनले वडा नम्बर ९ को सभापतीमा अमृत उप्रेती र वडा नम्बर १० मा सिद्धार्थ लोप्चन, वडा नम्बर ११ को सभापतीमा कृष्ण मगर, १२ को सभापतीमा लक्ष्मण थिङ्ग तथा वडा नम्बर १३ को सभापतीमा सुनबहादुर थिङ्गसहित सर्वसम्मत चयन गरेको छ ।
वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुनेको छ । क्षेत्रीय प्रतिनिधिहरुले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।



