निजगढ,     डिभिजन वन कार्यालय बाराले निजगढ वडा नं. २ स्थित वनदेवी सामुदायिक वन समुहको वन क्षेत्रको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा ७ दिनभित्र खाली गर्न सूचना गरेको छ ।

वन कार्यालयले स्थानीय नरवहादुर क्षेत्री, बुधकुमारी तिमल्सिना, चेतकुमारी थापा, मनकुमारी थापा, दिनेश के.सी., सिताराम लम्साल, बोलखबहादुर फुयाल, राजु घिसिङ, डम्वरबहादुर थापा, मोहन राई, श्यामबहादुर घिसिङ समेत ११ जनाले घर टहरा निर्माण गरी आवादी गरेको १.२२ हेक्टर वन क्षेत्रको अतिक्रमण खाली गर्न सातदिने सूचना जारी गरेको हो ।

२ वर्षअघि बारा जिल्ला अदालतको निर्णयबाट वन क्षेत्र कायम भएको उक्त क्षेत्रमा निर्माण गरिएका घरटहरा हालसम्म पनि कायम नै रहेको पाइएकोभन्दै डिभिजन वन कार्यालयले वन ऐन २०७६ तथा प्रचलित कानुन अनुसार जमिन खाली गर्न भनेको हो ।
कार्यालयले तोकेको समय सीमाभित्र खाली नगरी अटेर गरेमा कानुन बमोजिम अतिक्रमित जग्गा खाली गराई सो क्रममा लागेको खर्च सम्बन्धित व्यक्तिबाट भराइने र अदालतको आदेशको अवहेलना तथा वन ऐन २०७६ ले तोके अनुसारको सजाय हुने समेत सूचनामा जनाएको छ ।

यसअघि डिभिजन वन कार्यालय बाराले सोही क्षेत्रको अतिक्रमणमा परेको १९.७८ हेक्टर जमिन खाली गराएर १३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकेको छ भने बाँकी रहेको करिव ६ हेक्टर जमिनमा पनि वृक्षारोपणको तयारी गरिएको निजगढ सब डिभिजन वन कार्यालयकी प्रमुख शर्मिला नेपालले जानकारी दिनुभयो ।

वन कार्यालयले सोही क्षेत्रमा अतिक्रमणमा परेको १.२२ हेक्टर जमिनमा निर्माण भएका घरटहरासमेत हटाएर अतिक्रमण खाली गर्न भनेको हो ।

सशस्त्र व्दन्दको समयमा माओवादी कार्यकर्ताहरुले सामुदायिक वन फडानी गरी आवादी गर्ने तयारी गरेपछि स्थानीयले संघसंस्थाको नाममा आम्दानी बाँध्ने गरी संरक्षण गरेको सो वन क्षेत्रको जमिनमा स्थानीयले केरालगायत विभिन्न बाली खेती गर्दैआएका थिए ।

डिभिजन वन कार्यालय बाराले वन फडानी र आवादी गरेको आरोपमा वन देवी सामुदायिक वन समूहका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय ३५ जना विरुद्ध जिल्ला अदालत बारामा दर्ता गरेको मुद्दामा वन कार्यालयको पक्षमा फैसला भएपछि सो वन क्षेत्रको जमिनमा खेती गर्ने कार्य रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय