निजगढ,
जिल्ला हुलाक कार्यालय बाराले घरदैलोबाटै राहदानी उपलब्ध गराउने सेवा सुरु गरेको छ ।
कार्यालयले सेवा सुरु भएको पहिलो दिन शुक्रवार मात्रै जिल्लाका विभिन्न पालिकामा २६ जनाले आफ्नै घरबाट राहदानी प्राप्त गरेका छन् ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय बारासंग भएको सम्झौताअनुसार जिल्ला हुलाक कार्यालय बाराका कर्मचारीहरुले सेवाग्राहीको घरघरमै पुगेर राहदानी उपलब्ध गराएका हुन ।
जिल्ला प्रशासन कार्यालयसँग भएको सम्झौता अनुसार पहिलो चरणमा २८ वटा राहदानी मध्ये २६ जना सेवाग्राहीको घरदैलोमा पुगेर वितरण गरिएको जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार निजगढ नगरपालिकाका आठ जना, जीतपुरसिमरा उपमहानगरपालिकाका १० मध्ये नौ जनालाई घरमै पुगेर राहादानी बुझाइएको छ ।
त्यसैगरी महागढीमाई नगरपालिकामा तीन जना र कोल्हबी नगरपालिकामा दुई जनाले पनि घरबाटै राहदानी सेवा प्राप्त गरेका छन भने देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका र बारागढी गाउँपालिकाका एक÷एक जना सेवाग्राहीलाई हुलाक कर्मचारीहरुले राहदानी वितरण गरेका छन ।
सरकारले घरमै पुगेर उपलब्ध गराउने सेवा सञ्चालनमा ल्याएपछि हाल जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरमै पुगेर राहादानी वितरण गरेको हो ।
यसअघि सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर राहदानी बुझ्नुपर्ने व्यवस्था थियो ।
हुलाक कार्यालयले जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागको नियमित प्रक्रियाअनुसार आवेदन दिने सेवाग्राहीहरुको राहदानी तयार भएपछि घरदैलोमा पुगेर वितरण गर्न थालेको हो । सो सेवा अन्तर्गत राहदानी तयार भएपछि जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाकका कर्मचारीहरुले उनीहरुको घर ठेगानमा पुगेर वितरण गर्ने छन ।
यसअघि राहदानी तयार भएपछि सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालय पुगेर बुझ्नुपर्ने व्यवस्था थियो ।

हुलाक कार्यालयका कर्मचारीहरुले घरमै आएर वितरण गर्न थालेपछि वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी बनाउने नागरिकले राहदानी लिनकै लागि पटक पटक सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।



