विश्व रक्तदाता दिवसको अवसरमा यही जेठ ३० गते चितवनको भरतपुरमा आयोजना हुन लागेको ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ सफल बनाउन बाराबाट युवाहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। मानवताको महान अभियानका रूपमा लिइने रक्तदान कार्यक्रमलाई सफल बनाउन बाराका युवा तथा रक्तदाता अभियन्ताहरू भरतपुर पुग्ने तयारीमा जुटेका छन।
बाराका सक्रिय सामाजिक अभियन्ता तथा नियमित रक्तदाता खड्गराज मैनालीको पहल र सक्रियतामा रक्तदान महोत्सवमा सहभागी हुन युवाहरूको टोली चितवन जान लागेको हो। टोलीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा विद्यासागर ईङ्लिस बोर्डिङ्ग स्कूलले बस उपलब्ध गराएको छ भने जितपुरसिमरा उपमहानगरपालिकाले ईन्धन सहयोग गरेको मैनालीले जानकारी दिए।
रक्तदान अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका मैनालीका अनुसार २०८३ युनिट रगत लक्ष्य प्राप्तिका लागि बाराबाट उल्लेख्य संख्यामा रक्तदाताहरू महोत्सवमा सहभागी हुनेछन। उनले रक्तदानले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले युवाहरूलाई मानव सेवाको यस अभियानमा जोडिन आग्रह गरेका छन। “रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले हामी ठूलो संख्यामा भरतपुर जाँदैछौँ,” उनले बताए।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवमा देशभरका रक्तदाता, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। अस्पतालहरूको शहरका रूपमा परिचित भरतपुरमा रगतको माग उच्च रहने भएकाले विशेष गरी गर्मीयाममा देखिने रगत अभावलाई न्यूनीकरण गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
हरेक वर्ष जुन १३ मा मनाइने विश्व रक्तदाता दिवसको अवसर पारेर ब्लड डोनर्स सोसाईटी नेपालले महोत्सव आयोजना गर्न लागेको हो । सोसाईटीका अध्यक्ष अञ्जन दवाडीका अनुसार विगत पाँच वर्षदेखि संस्थाले रक्तदान तथा रक्त व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। गत वर्ष आयोजित पहिलो रक्तदान महोत्सवमा एकै दिन एक हजार ७१७ पिन्ट रगत संकलन भएको थियो, जुन नेपालकै उल्लेखनीय रक्तदान कार्यक्रममध्ये एक मानिएको छ।
महोत्सव सफल बनाउन प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सामाजिक संघ–संस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन। आयोजकले रगतको अभाव न्यूनीकरण गर्न, रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न तथा मानवताको सेवामा योगदान र्पुयाउन सबैलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आग्रह गरेका छन।



