निजगढ,     डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख डिभिजनल वन अधिकृत सुजितकुमार झाले वन संरक्षणमा स्थानीय तहका जनप्रतिनिधिहरुले चासो नदिएको गुनासो गर्नुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बाराले शनिबार निजगढमा आयोजना गरेको ‘बारा जिल्लामा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा सरोकारवाला निकायहरूको भूमिका’ विषयक समन्वयात्मक कार्यक्रममा बोल्दै डिएफओ झाले सो कुरा बताउनुभएको हो ।

डिएफओ झाले कार्यकर्ता भड्किएलान वा चुनावमा भोट घट्ला कि भन्ने डरमा जनप्रतिनिधिहरुले वन अतिक्रमण हटाउन र वन पैदावारको चोरी निकासी रोक्न चासो नदिएको गुनासो गर्नुभयो । ‘वन संरक्षणमा स्थानीय तहको भूमिका सबैभन्दा बढी हुनुपथ्र्यो, डिएफओ झाले भन्नुभयो, तर जनप्रतिनिधिहरु वनभन्दा आफ्ना कार्यकर्ता र चुनावको भोट संरक्षणमा मात्र सक्रिय देखिएका छन ।’

स्थानीय तहको सहयोगबीना पनि वन कार्यालयले जिल्लामा अतिक्रमण नियन्त्रण र वन संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त गरेको पनि सुनाउनुभयो । उहाँले निजगढको सिंगौल, जीतपुरसिमराको ३ नम्बर पुल लगायत क्षेत्रको वन अतिक्रमण हालैमात्र हटाइएको पनि उहाँले जानकारी दिनुभयो । यसमा सामुदायिक वन उपभोक्ता समूह, सुरक्षाकर्मीलगायत विभिन्न निकायको सहयोग सहनीय रहेको पनि बताउनुभयो ।

सरकारले सुकुम्वासीहरुलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको पनि डिएफओ झाले जानकारी दिनुभयो । ‘जिल्ला स्तरीय भूमि आयोगले आवश्यक काम सुरु गरिसकेको छ, उहाँले भन्नुभयो वन र जोखिमयुक्त क्षेत्रबाट हटाइएका वास्तविक सुकुम्वासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिने छ ।’

उहाँले वन पैदावारको अवैध कटानी तथा चोरी निकासी रोक्न डिभिजन वन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय समुदायबीच सूचना आदानप्रदान र संयुक्त अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

 

कार्यक्रमका सहभागीहरुले बारा जिल्लामा वन पैदावारको अवैध कटानी तथा चोरी निकासी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच समन्वय अपरिहार्य रहेको बताएका छन् । सहभागीहरूले वन अपराध नियन्त्रण कुनै एउटा निकायको प्रयासमात्रै प्रर्याप्त नभएकोले सरोकारवाला सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको बताएका हुन् ।

महासंघ बाराका अध्यक्ष रामजी बजागाईको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाको वन तथा वातावरण शाखाकी प्रमुख पूर्णिमा तिमल्सिना, फेकोफन बाराका उपाध्यक्ष बासुदेव तिमल्सिना, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख दाताराम अधिकारी, सशस्त्र प्रहरी बल बेस क्याम्प निजगढका प्रमुख मुरारी अधिकारीलगायत जिल्लाका विभिन्न सामुदायिक वन समूहका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय