वीरगञ्ज,     नेकपा एमाले नेता पुरुषोत्तम पौडेले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको उपादेयता अझै सान्दर्भिक रहेको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा वीरगञ्जमा भएको “आजको सन्दर्भमा जनताको बहुदलीय जनवाद” विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले आइतबार सो कुरा बताउनुभएको हो ।

नेपालको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय तथा समृद्धिको आधार निर्माण गर्ने कार्यमा बहुदलीय जनवादको सान्दर्भिकता झन बढ्दै गएको बताउनुभयो । उहाँले देश र जनताको लागि यो सिद्धान्तले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै यसको मर्म बुझेर सोहीअनुसार कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

‘मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त वर्तमान राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक छ, नेता पौडेलले भन्नुभयो, तर सिद्धान्तलाई व्यवहारमा सही ढङ्गले प्रयोग गर्न नसक्दा नेपालका कम्यूनिष्ट पार्टीहरु र राष्ट्रले पनि क्षति बेहोर्नु परेको छ ।’ मदन भण्डारीले लोकतान्त्रिक प्रक्रियामार्फत कम्यूनिष्ट पार्टीहरुले पनि सरकार निर्माण गर्न र जनताको पक्षमा काम गर्न सक्ने ब्याख्यासहित जनताको बहुदलीय जनवादी सिद्धान्त अघि सारेर विश्वभरिका कम्यूनिष्टहरुलाई मार्गदर्शन गरेको उहाँँको भनाई थियो ।

‘९० को दशकमा विश्वभरि नै कम्यूनिष्ट पार्टीहरु रक्षात्मक अवस्थामा थिए, उहाँले भन्नुभयो, यही सिद्धान्तको आधारमा नेकपा एमालेले आमनिर्वाचनमार्फत नेपालमा कम्यूनिष्ट पार्टीको सरकार गठन गरेको हो ।’ उहाँले मदन भण्डारी नेपालको मात्रै नभएर विश्वभरिकै कम्यूनिष्टहरुको लागि आदर्श र प्रेरणाको स्रोत भएको पनि बताउनुभयो ।

मदन भण्डारी प्रतिष्ठान, पर्साको आयोजनामा भएको कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वनगर प्रमुख विजय सरावगी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य लालबाबु शेख तथा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्व, वैचारिक योगदान र राजनीतिक विरासतको स्मरण गर्दै उहाँका विचारहरूले नेपाली राजनीतिलाई नयाँ दिशा प्रदान गरेको बताएका थिए । साथै वर्तमान पुस्ताले उहाँका आदर्श, सिद्धान्त र राष्ट्रिय हितप्रतिको समर्पणबाट प्रेरणा लिएर राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष शत्रुघन नेपालले जननेता मदन भण्डारीका विचार र सिद्धान्तलाई समाजमा अझ व्यापक रूपमा स्थापित गर्न यस्ता वैचारिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय