अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले निजगढमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। बौद्धिक सर्कल, निजगढ नगरपालिकाको आयोजनामा होली एन्जल्स बोर्डिङ स्कुलको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
युवापुस्तामा बढ्दै गएको लागुऔषधको प्रयोग तथा यसबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लागुऔषध दुव्र्यसनका कारण युवाको भविष्यमा पर्न सक्ने असर, यसको नियन्त्रण तथा रोकथामका लागि परिवार, समुदाय, विद्यालय, सुरक्षा निकाय र स्थानीय तहको भूमिकाबारे छलफल गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नारायण शर्माले युवाको ऊर्जा र क्षमतालाई सकारात्मक क्षेत्रमा उपयोग गर्न सके समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताए। युवालाई कुलतबाट जोगाउन परिवार, विद्यालय र समुदायले समयमै चासो दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि वैदेशिक रोजगार बोर्डका निवर्तमान कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले लागुऔषध दुव्र्यसनले व्यक्तिको व्यक्तिगत जीवनसँगै परिवार र समाजमा समेत दीर्घकालीन असर पार्ने बताए। उनले युवाहरूलाई सकारात्मक गतिविधि, शिक्षा, रोजगारी तथा सिर्जनात्मक क्षेत्रमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै लागुऔषध नियन्त्रणमा राज्यका निकायसँगै नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताए।
त्यस्तै, लागुऔषध सेवन, ओसारपसार तथा कारोबारसँग सम्बन्धित विषयमा सागर ढकालले विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनले लागुऔषधको प्रयोगबाट हुने व्यक्तिगत, पारिवारिक तथा सामाजिक असर, यसको सेवन तथा ओसारपसारसँग जोडिएका जोखिम र यसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीलाई जानकारी गराएका थिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारीले लागुऔषधसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए। उनले लागुऔषधको सेवन, ओसारपसार तथा कारोबारसँग सम्बन्धित कानुनी प्रावधान, त्यसमा हुने कारबाही तथा युवाहरू लागुऔषधको जालमा पर्न नदिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराए।
प्रहरी निरीक्षक अधिकारीले लागुऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै परिवार, विद्यालय, स्थानीय समुदाय र सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। युवाहरूलाई लागुऔषधबाट टाढा राख्न अभिभावक तथा समुदायले उनीहरूको गतिविधिमा ध्यान दिनुपर्नेमा समेत उनले जोड दिए।
अन्तरक्रियाका क्रममा सहभागीहरूले लागुऔषधको बढ्दो जोखिम, युवाहरूलाई कुलतबाट जोगाउने उपाय, कानुनी व्यवस्था, अभिभावकको भूमिका तथा स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सचेतनामूलक कार्यक्रमका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए।
कार्यक्रमको सञ्चालन यम कुमारी सापकोटा (सरिता)ले गरेकी थिइन।
आयोजकले अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी युवाका वास्तविक समस्यामाथि बहस र समाधानको खोजी गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने जनाएको छ। युवालाई लागुऔषधबाट मुक्त राख्दै उनीहरूको क्षमता र ऊर्जालाई राष्ट्र निर्माणमा परिचालन गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा स्थानीय, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, शिक्षक, बुद्धिजीवी, युवा तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।



