निजगढ, विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी चयन गर्न निजगढ नरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले आगामी असोज ११ गतेको लागि बोलाएको अभिभावक भेला प्रतिकुल मौसमका कारण स्थगित गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले हिजो एउटा सूचनामार्फत नयाँ विविस चयनको लागि आगामी असोज ११ गते आइतवार दिनको २ बजेको लागि आह्वान गरिएको अभिभावक भेला स्थगित गरिएको जानकारी दिनुभएको हो ।
सूचनामा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार मिति २०८३।०६।०९ देखि २०८३।०६।११ गतेसम्म नेपाल अधिराज्यभर भारी वर्षा हुने भएकोले मौसम प्रतिकुलतालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि अभिभावक भेला स्थगित गरिएको जनाइएको छ ।
विद्यालयले विविस गठन प्रयोजनको लागि गत असोज २ गते दोस्रो पटक आह्वान गरेको भेला स्थगित गरेको हो ।
यसअघि विद्यालयले भदौं ११ गतेको सूचनामार्फत भदैं १८ गतेको लागि पहिलो पटक बोलाएको भेलामा पनि अभिभावकहरुको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।
भेलाले विविसको लागि २ जना महिला र २ जना पुरुष गरी ४ जना सदस्यहरुको चयन गर्ने छ । अभिभावकहरुबाट चयन भएका ४ जना सदस्यहरुले शिक्षासेवी र चन्दादाता मध्येबाट थप २ जना सदस्य मनोनयन गर्ने र १ जना शिक्षक प्रतिनिधिसमेत गरेर जम्मा ७ जनाको समिति गठन हुने प्राबधान छ ।
सोही समितिले आफूहरुमध्ये विद्यालय व्यवस्थापन समितिको लागि १ जना अध्यक्षको चयन गर्नेछ ।



