सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराको निजगढ नगरपालिका–९ का निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा उनीहरूका परिवारको हित, कल्याण र सामाजिक सुरक्षासँग जोडिएका महत्वपूर्ण कामको समन्वय तथा कार्यान्वयन गर्ने जिम्मेवारी रहेको बोर्डको कार्यकारी निर्देशक पदमा उप्रेतीको नियुक्तिलाई निजगढका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

उप्रेती निजगढ नगरपालिका–९ निवासी हुन। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका रूपमा उनले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिक तथा उनीहरूका परिवारलाई उपलब्ध गराइने कल्याणकारी सेवा, उद्धार तथा राहत, मृतक श्रमिकका परिवारलाई प्रदान गरिने सहायता, सीप विकास तथा सामाजिक सुरक्षा लगायतका विषयमा काम गर्नुपर्नेछ।

यसअघि पनि सिफारिसमा परेका थिए उप्रेती

निर्मलकुमार उप्रेती यसअघि पनि वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि सिफारिसमा परेका थिए। यसअघिका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीको कार्यकालका क्रममा समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।

त्यतिबेला सिफारिस गरिएका नाममध्ये निर्मलकुमार उप्रेतीको नामसमेत समावेश थियो। तर उक्त समयमा बोर्डको कार्यकारी निर्देशकमा बाराकै कोल्हवी नगरपालिका निवासी डा. द्वारिका उप्रेती नियुक्त भएका थिए।

डा. द्वारिका उप्रेतीको कार्यकाल समाप्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाएको थियो। सोही प्रक्रियाअनुसार यसपटक निर्मलकुमार उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

बाराबाट लगातार दोस्रो कार्यकारी निर्देशक

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त भएसँगै बाराबाट लगातार दोस्रो व्यक्ति यो जिम्मेवारीमा पुगेका छन।

यसअघि बाराको कोल्हवी नगरपालिकाका डा. द्वारिका उप्रेतीले बोर्डको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालपछि निजगढका निर्मलकुमार उप्रेती नियुक्त भएका हुन।

यसले वैदेशिक रोजगार बोर्डको नेतृत्वमा बारा जिल्लाको प्रतिनिधित्वलाई निरन्तरता दिएको छ। विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो संख्या रहेको मधेश प्रदेश र बारा जिल्लाका दृष्टिले बोर्डको नेतृत्वमा जिल्लाकै व्यक्तिको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

वैदेशिक रोजगार बोर्डको जिम्मेवारी महत्वपूर्ण

वैदेशिक रोजगार बोर्ड वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र उनीहरूका परिवारको कल्याणसँग प्रत्यक्ष रूपमा जोडिएको सरकारी निकाय हो। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने, अंगभंग वा गम्भीर स्वास्थ्य समस्या भएका श्रमिकलाई सहयोग गर्ने, उद्धार तथा राहतसम्बन्धी कार्य गर्ने लगायतका जिम्मेवारी बोर्डसँग छन।

त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सीप विकास, सचेतना, कल्याणकारी कार्यक्रम तथा उनीहरूका परिवारलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नु पनि बोर्डको महत्वपूर्ण कार्यक्षेत्र हो।

नवनियुक्त कार्यकारी निर्देशक उप्रेतीले अब बोर्डका यी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछन।

निर्मलकुमार उप्रेतीको नियुक्तिसँगै वैदेशिक रोजगार बोर्डको आगामी कार्यदिशा, श्रमिकमैत्री सेवा प्रवाह र वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली श्रमिक तथा उनीहरूका परिवारलाई उपलब्ध गराइने कल्याणकारी सेवामा सुधार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय