निजगढ, बाराको निजगढमा सुविधा सम्पन्न अस्पतालबाट उपचार सेवा प्रदान गर्दैआएको तिलगंगा सामुदायिक आँखा अस्पतालले रौतहटको चन्द्रनिगाहपुरमा पनि सेवा केन्द्र सञ्चालन गर्ने भएको छ ।
नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानले चन्द्रपुर नगरपालिका कार्यालयसंगको सहकार्यमा यही श्रावण २९ गते शुक्रबारदेखि चन्द्रपुर नगर अस्पतालमा केन्द्रको औपचारिक रुपमा उद्धाटन गरेर आँखा उपचार सम्बन्धी सेवा सुरु गर्न लागिएको निजगढ तिलगंगा अस्पतालका प्रमुख डा. विष्णुहरि मरठ्ठाले जानकारी दिनुभयो ।
चन्द्रनिगाहपुर तथा आसपासका क्षेत्रका नागरिकलाई स्थानीयस्तरबाटै सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
केन्द्रबाट आँखाको नियमित जाँच, उपचार तथा आवश्यक परामर्श प्रदान गरिनेछ र जटिल समस्या भएका बिरामीको लागि थप उपचारका लागि सम्बन्धित अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइने समेत जनाइएको छ ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा टाढा गएर उपचार गराउन कठिन हुने बिरामीलाई केन्द्रको सेवाबाट राहत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तह र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालन हुने केन्द्रबाट नियमित र प्रभावकारी सेवा प्रदान गरिने जनाइएको छ ।



