निजगढ, डिभिजन वन कार्यालय बाराका प्रमुख डिएफओ सुजितकुमार झाले वन जंगल संरक्षणमा सामुहिक प्रयास जरुरी भएको बताउनुभएको छ ।
निजगढ ७ को जनहित सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको सालको पातबाट दुना÷टपरी बनाउने तालिमको आज भएको समापन कार्यक्रममा बोल्दै डिएफओ झाले सो कुरा बताउनुभएको हो ।
वन संरक्षणमा कर्मचारी र सुरक्षाकर्मीको प्रयासमात्रै पर्याप्त नहुने बताउँदै डिएफो झाले यसको लागि सबैको उत्तिकै सहभागिता आवश्यक छ भन्नुभयो । ‘निजी जमिन बढाएर सम्पति जोडनका लागि वन विनास र फडानी गर्ने क्रम बढ्दै गएको छ, उहाँले भन्नुभयो, यसलाई नियन्त्रण गर्न कर्मचारीहरुको प्रयासले मात्रै पुग्दैन, समुदाय स्तरबाट नै पहल हुनुपर्छ ।’
वन विनास र औद्योगिक प्रदुषणले वातावरणमा प्रतिकुल असर परेको र मानवसहित पृथ्वीका सबै प्राणीहरुको जीवन संकटमा परेको उहाँको भनाई थियो । ‘वन विनासका कारण पृथ्वीको तापक्रम बढ्दै छ, धेरै प्राणीहरु लुप्त भइसके, उहाँले भन्नुभयो, विनासको यस्तै अवस्था कायम रहे पृथ्वीबाट प्राणीहरुको अस्तित्व समाप्त हुने छ ।’ ‘वन विनासले प्राणीहरुको अस्तित्व संकटमा पर्ने कुरा धेरैले बुझेका पनि छन, उहाँले भन्नुभयो, तर फेरि बुझ पचाएर वन विनास गरिरहेका छन ।’
उहाँले वन अतिक्रमण गरेर बस्नेहरुलाई कसैले पनि प्रश्रय दिन नहुँने र वन क्षेत्रबाट अन्यत्र व्यवस्थापन गरिनुपर्ने पनि बताउनुभयो ।
वन संरक्षणसंगै वन पैदावारको उपयोग गरेर मानिसले फाइदा लिनुपर्ने पनि उहाँको भनाई छ । ‘वनबाट उत्पादन हुने काठ, दाउरा, पात पतिङ्गरलगायत पैदावारको समुदायको आय आर्जन र सम्बृद्धिको लागि उपयोग गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
समूहकी अध्यक्ष चन्द्रिका पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ सब डिभिजन वन कार्यालयकी वन अधिकृत शर्मिला नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ बाराका उपाध्यक्ष बासु तिमल्सिना, महासंघ निजगढका अध्यक्ष कुशबहादुर थापालगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
वन उपभोक्ताहरुको आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यले डिभिजन वन कार्यालय बाराको ‘सम्बृद्धिका लागि वन’ कार्यक्रमको सहयोगमा भएको १० दिने तालिममा स्थानीय २० जना महिला सहभागी रहेका थिए ।
तालिमपछि २ जनाले प्रतिदिन १ हजार ५ सय थानसम्म दुना÷टपरी बनाउन सक्ने र बजारमा खुद्रा मूल्यमा एक थान दुना÷टपरी १० रुपैयासम्ममा बिक्री हुने बताइएको छ ।



