रौतहट। बाराको निजगढ नगरपालिका निवासी एक युवकको धक्काबाट रौतहटको चन्द्रपुर नगरपालिका-४ मा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका-४ निवासी ३० वर्षीय विष्णु सुवेदी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बाराको निजगढ नगरपालिका-६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई सडकमा धक्का दिएका थिए।
प्रहरीका अनुसार घटनाको समयमा मदिरा सेवन गरेका मोक्तान र उनकी श्रीमतीबीच सडकमा विवाद भइरहेको थियो। सोही क्रममा त्यहाँबाट हिँडिरहेका सुवेदीलाई मोक्तानले एक्कासी धकेलेपछि उनी सडकमा लडेर गम्भीर घाइते भएका थिए।
स्थानीयवासीले घाइते सुवेदीलाई तत्काल चन्द्रनिगाहपुरस्थित रिसरेखा अस्पताल पुर्याएका थिए। अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि बाहिर रेफर गर्न सुझाव दिएका थिए। तर कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई घरमै फिर्ता लगेको बताइएको छ।
घर फर्काइएका सुवेदीको हिजो राति करिब १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विमल मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।



