निजगढ,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा निजगढ नगरपालिकाका शम्भुबहादुर बुढाथोकीसहित बारा जिल्लाबाट ५ जना निर्वाचित भएका छन ।
१५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनको आज सम्पन्न मतपरिणाम अनुसार बुढाथोकीसहित बारा जिल्लाबाट संविधानसभा सदस्य शोभाकर पराजुली र युवा नेताहरु नवराज त्रिपाठी, ममता शर्मा र मेघा शाही केन्द्रीय सदस्यमा निर्वाचित बनेका हुन ।
बुढाथोकी मधेस प्रदेश खुल्ला, पराजुली र त्रिपाठी खुल्ला तथा शर्मा र शाहीले भने ३५ वर्षमुनिको कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
केन्द्रीय सदस्यमा निर्वाचित पराजुली, त्रिपाठी र शाही जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दा हुन भने शर्मा सिम्रौनगढ नगरपालिकाकी बासिन्दा हुनुहुन्छ ।
महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दिनुभएका बाराका नेता फरमुल्लाह मंसुरसहित केन्द्रीय सदस्य पदका अन्य ८ जना उम्मेदवार भने पराजित बनेका छन ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बाराका हरि थपलिया, शोभा लामा, कृष्णवर्त सिंह, रविन्द्र पनुहर, राजीव चौधरी, शिव लम्साल र नारायणी रायमाझी पराजित बनेका हुन ।



