निजगढ,      निजगढ नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा आमाछोरासहित पाँच जना घाइते भएका छन् । आज अपराह्न करिब ४ः५० बजे रेडियो निजगढको स्टेशन कार्यालय अगाडि राजमार्गको भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना र अटोमा सवार तीन जना घाइते भएका हुन ।

प्रहरीका अनुसार चपुरबाट निजगढतर्फ आउँदै गरेको ज १० प ३८२४ नम्बरको मोटरसाइकललाई निजगढबाट सिंगौलतर्फ जाँदै गरेको ना २ ह ५४२७ नम्बरको अटोले ठक्कर दिएको थियो । अगाडितर्फबाट सोही दिशातर्फ गइरहेको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अटोले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका– २ निवासी २१ वर्षीय सुधिर डंगोलको अनुहार तथा हातखुट्टामा चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार सुधिरकी ६० वर्षीया आमा निधि श्रेष्ठको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुवैको अवस्था सामान्य रहेको छ ।

त्यसैगरी, अटोमा सवार सर्लाहीको बागमती नगरपालिका– ४ निवासी ४९ वर्षीय राजु मालेको बायाँ खुट्टा भाँचिनुका साथै बायाँ कोखामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

सोही अटोमा सवार ५३ वर्षीया मैया राई र ६४ वर्षीया सीता देवी परियारको दुवै खुट्टा तथा हातखुट्टामा सामान्य चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि निजगढस्थित सामुदायिक प्रसूति अस्पताल लगिएको थियो । गम्भीर चोट लागेका राजु मालेलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल, अटो तथा अटो चालक रौतहटको चन्द्रपुर नगरपालिका– ३ निवासी २६ वर्षीय जितबहादुर भोलनलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय