निजगढ,
अत्याधिक गर्मी बढेपछि निजगढ नगरपालिका र कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयहरुमा बिदा दिने घोषणा गरेका छन ।
निजगढ नगरपालकाका शिक्षा अधिकृत (सातौं) उत्तम लामिछानेले मंगलवार सूचना निकालेर जेष्ठ २९ र ३० गते विद्यालयहरुमा बिदा दिने जनाउनुभएको हो भने कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिवकुमार यादवले जेष्ठ २८,२९ र ३० गते बिदा दिइएको जनाइएको छ ।
गर्मीका कारण पठनपाठन कार्यमा असहजता उत्पन्न भएपछि विदा दिइएको लामिछाने र यादवले छुट्टाछुट्टै जारी गरेको सूचनामा उल्लेख छ ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिवकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा अत्यधिक तापमानका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेकाले विद्यालय बन्द गर्नुपरेको उल्लेख छ ।
विद्यालयहरू असार १ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ ।
जेष्ठ २८ गते सार्वजनिक बिदा परेकोले निजगढले २९ गतेदेखि मात्रै गर्मी बिदा दिएको जनाएको छ । मधेस प्रदेश सरकारले कविर दास जयन्तीको अवसरमा मधेशमा बुधवार सार्वजनिक बिदा घोषणा गरेको हो ।
देशका थोरै ठाउँमा आज मौसम बदली भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम बदली देखिएको छ । त्यस्तै काठमाण्डौ उपत्यकामा पनि हल्का बादल लागेको छ । पश्चिमी र स्थानीय वायुका कारण केही ठाउँमा मौसम बदली भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
मंगलवार कोशी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा दिउँसोपख हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशीमा मनसुनी वायुको प्रभाव छ । मंगलवारभन्दा बुधवार र बुधवारभन्दा बिहीवार मौसम बदली हुने र पानी पर्ने क्रम बढ्ने मौसमविद् महर्जनले बताउनुभयो ।
पानी पर्ने क्रम बढ्दै गएमा चर्को घामबाट केही दिनमै राहत मिल्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् । तर देशका धेरै ठाउँमा मंगलवार पनि सोमवार जस्तै गर्मी कायमै रहनेछ । बुधवारदेखि तापक्रम केही घट्न सक्ने र गर्मीबाट राहत पुग्ने अनुमान मौसमविदको छ ।
नेपालगञ्जमा सोमवार सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराई÷मधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ ।
यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै गएको जेठ १५ गते बिहीवार राति नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी नपर्दा देशभर गर्मी बढेको छ । अहिले पनि कोशीबाहेकका क्षेत्रमा पश्चिमी र स्थानीय वायु नै सक्रिय छ ।



