बाराको निजगढ नगरपालिकामा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले बुधबारबाट नयाँ भवनबाट सेवा सुरु गरेको छ । वुधबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले एक कार्यक्रम बिच अस्पतालको उद्धाटन गरे लगत्तै अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन समेत सुरु गरेको हो ।
निजगढ नगरपालिकाले उपलब्द गराएको जग्गामा आँखा अस्पताल निर्माणमा अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानीमा तयार भएको उद्धाटन कार्यक्रममा नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले जानकारी दिईन ।
यस्तै विश्व प्रसिद्ध आँखा विशेषज्ञ नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइटले यस अस्पतालले दैनिक तिन देखी ६ सय आँखाका बिरामीले लाभलिने अपेक्षा गरिएको बताए । ‘मधेशमा अस्पताल बनाउने सपना साकार भएको छ । यस अस्पतालले गरिब तथा असाहय बर्गका आँखाका बिरामीका निम्ती दिगो र उच्च गुणस्तरको आँखा हेरचाह प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को ल्यान्डमार्क हो। अस्पताल भनेको आशा र समर्पणको प्रतीक हो, जसले सबै आँखाका बिरामीहरूको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउँछ, डा. सन्दुक रुइटले भने यस अस्पतालबाट मधेश प्रदेशका आठवटै जिल्ला सहित तराई भेगका अघिकाशं क्षेत्र र छिमेकी राष्ट्र भारतबाट समेत उपचारका निम्ती आउने छन भने अबको केही वर्षपछिनै बाषिक रुपमा आठ देखी दश हजार मानिसको आँखाको अपेशन निजगढमै हुने छ ।’
यस्तै निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल निर्माणका निम्ती पहल गर्ने पुर्व जनप्रतिनिधि सहीत निर्माणमा सहयोग गर्ने अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनलाई धन्यवाद दिए । नगरप्रमुख पुरीले भने,‘यस निजगढ तिलगंगा अस्पतालका निम्ती निजगढ नगरपालिकाले आवश्यक परेको समयमा सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए।’
तिलगंगा संचालक समितिका सदस्य एवंम लोकप्रिय हास्यकलाकार हरिवंश आचार्य, अस्ट्रेलियन दातृ संस्था द फ्रेड होलोज फाउन्डेसनका निवतर्मान अध्यक्ष माइकल जन्सन, द फ्रेड होलोज फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत विशआर्ट, नेपाल आँखा कार्यक्रम कार्यकारिणी समितिका अध्यक्ष सुहद घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।
मोफसलकै ठुलो आँखा अस्पतालका रूपमा रहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको थियो । पाँच वर्षभित्र सम्पन्न हुने गरी निर्माण सुरु भएको भवन निर्माण निर्धारित समयभन्दा दुई वर्षअघि नै पूरा भएको हो ।
आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा आँखा अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच विस्तारका लागि निजगढलगायत देशका विभिन्न २० अस्पतालहरूमार्फत आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । निजगढ तिलगंगा आँखा अस्पतालमा बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा लिन सकिने बताईएको छ ।
यसअघि निजगढ तिलगंगा आँखा अस्पतालले निजगढ नगरपालिका– ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रपरिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको थियो । यसैबीच निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढमा आयोजना गरेको ३ दिने शिवीरमा ४५४ जना आँखाका बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । गत शनिवारबाट शुरु भएर मंगलबार सकिएको शिविरमा ४ हजार २ सय ३५ जनामा आँखाको परीक्षण गरिएको थियो । जसमध्ये ४५४ जनामा मोतियाबिन्दु फेला परेपछि अस्पतालकी चिकित्सक रिता गुरुङ्गको नेतृत्वमा रहेको ५ जनाको चिकित्सक टोलीले बिरामीहरुको आँखाको शल्यक्रिया गरेको हो ।