निजगढ,          जीतपुरसिमरा उपमहानगरपालिकाले शिक्षा ऐनमा पहिलो संशोधन गर्दै शिक्षकहरूको मर्यादा, सम्मान र अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको संशोधित प्रावधानअनुसार अब शिक्षकहरूको तह र श्रेणीअनुसार स्थानीय तहका कर्मचारी सरह मर्यादाक्रम कायम गरिने भएको छ ।

संशोधित व्यवस्थाअनुसार माध्यमिक शिक्षा प्रथम श्रेणीका शिक्षकलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका सह–सचिव तथा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरहको मर्यादा प्रदान गरिएको छ । यस्तै माध्यमिक शिक्षक द्वितीय श्रेणीलाई उप–सचिव तथा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत सरह र माध्यमिक शिक्षक तृतीय श्रेणीलाई शाखा अधिकृत तथा राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी सरहको मर्यादा कायम गरिएको छ ।

उपमहानगरपालिकाले निम्न माध्यमिक तथा प्राथमिक तहका शिक्षकहरूको पनि तह र श्रेणीअनुसार समान तहका सरकारी कर्मचारी सरह मर्यादाक्रम निर्धारण गरेको जनाएको छ। प्रधानाध्यापकहरूको मर्यादाक्रम भने आफू जुन तह र श्रेणीको शिक्षक हो, सोही बमोजिम रहने व्यवस्था गरिएको छ ।

संशोधित ऐनमा उपमहानगरपालिकाभित्र आयोजना हुने औपचारिक सभा, समारोह तथा सार्वजनिक कार्यक्रममा शिक्षकहरूलाई सोही मर्यादाअनुसार आसन र उपस्थिति गराउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । यसलाई शिक्षकको पेशागत सम्मान र सामाजिक प्रतिष्ठा अभिवृद्धितर्फको महत्वपूर्ण नीतिगत सुधारका रूपमा हेरिएको छ ।

उपमहानगरपालिकाले शिक्षकको पेशागत सम्मान, न्यायोचित अधिकार र जिम्मेवारीको व्यवस्था, गुणस्तरीय शिक्षा तथा नैतिक आचरणको प्रवद्र्धन र समर्पित शिक्षकमार्फत समृद्ध समाज निर्माण गर्ने उद्देश्यले संशोधन गरिएको जनाएको छ । उपमहानगरपालिकाका मेयर राजन पौडेलका अनुसार “शिक्षकको सम्मान, शिक्षाको पहिचान” भन्ने अभियानलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले यो कदम चालिएको हो । यो व्यवस्थाले शिक्षकको आत्मसम्मान वृद्धि हुने र विद्यालय शिक्षामा सकारात्मक प्रभाव पार्ने मेयर पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय