सडक दुर्घटना कम गर्न र ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सुकेपोखरी संरक्षण समितीले शनिबार सुकेपोखरी नजिक ट्राफिक चिन्हसहितको चेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको छ । समितीका अध्यक्ष सर्जु थापा र उनको टिमले विगत लामो समयदेखि सुकेपोखरी क्षेत्रमा सरसफाइ, वातावरण संरक्षण र सार्वजनिक सचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छन ।

अध्यक्ष थापाले सडक प्रयोगकर्ताहरूलाई सचेत बनाउने तथा दुर्घटना न्यूनीकरणमा सघाउने उद्देश्यले होर्डिङ बोर्ड राखिएको जानकारी दिए । ‘सडकमा चल्दा–फिर्दा देखिने यस्ता चेतनामूलक बोर्डहरूले चालक र पैदल यात्रुहरु दुवैलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्छन,’ उनले भने,‘यसले सवारी दुर्घटनामा कमी ल्याउन ठूलो भूमिका खेल्ने अपेक्षा छ ।’

उक्त होर्डिङ बोर्ड राख्ने कार्यमा जिल्ला ट्राफिक कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढको सक्रिय सहयोग तथा समन्वयमा सम्पन्न भएको हो । बोर्डमा विभिन्न महत्वपूर्ण ट्राफिक चिन्हहरू, सवारी नियम, दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी र जिम्मेवार सडक प्रयोगबारेका सन्देशहरू उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाराका अधिकारीहरूले पनि सडक दुर्घटना न्यूनीकरणका लागि चालक मात्र नभई यात्रु स्वयंले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन ।

स्थानीय बासिन्दाले पनि सुकेपोखरी क्षेत्रमा राखिएको चेतनामूलक होर्डिङ बोर्डलाई स्वागत गरेका छन । उनीहरूले यस्तो पहलले सडक प्रयोगकर्तामा सचेतना बढ्ने र विगतमा बढ्दो दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय