निजगढ,
निजगढमा आइतवार वन संरक्षणको क्षेत्रका काम गर्ने सरोकारवालाहरुको समन्वय गोष्ठी तथा बैठक सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय बाराको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जिल्लामा सामुदायिक वन समूह र साझेदारी वन व्यवस्थापन समितिहरुले वन संरक्षणको क्षेत्रमा सन्तोषजनकरुपले काम गरेको बताउनुभयो ।
उहाँले सामुदायलाई वन हस्तान्तरण भएपछि जिल्लाको उत्तरी भागका निजगढ, जीतपुरसिमरा नगरपालिका क्षेत्रमा वनको हैसियत राम्रो बन्दै गएकोभन्दै दक्षिणतर्फ साझोदारी वन समितिले पनि संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्नुभयो ।
अध्यक्ष बजगाईले उपभोक्ताको तहबाट वन संरक्षणमा इमान्दारिताका साथ काम हुदै गर्दा मुख्य सरोकारवाला निकाय वन कार्यालयका कर्मचारीहरुबाट भने अपेक्षित परिणाम पाउन नसकिएको गुनासो पनि गर्नुभएको थियो । ‘वन संरक्षण गर्न उपभोक्ताहरुले धेरै ठूलो मेहेनत गरेका छन, उहाँले भन्नुभयो, तर कर्मचारीहरुले भने आशा गरेअनुसार काम गर्न सकेका छैनन ।’ वन सुरक्षाकर्मीहरुको जागिरे मानसिकता र झारा टार्ने प्रवृत्तिले वन संरक्षणको क्षेत्रमा सोचेअनुरुपमो परिणाम आउन नसकेको पनि बताउनुभयो ।
बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा भएको सो कार्यक्रममा सहभागीहरुले वन संरक्षणको लागि अपनाउनुपर्ने उपायहरुको बारेमा सुझाव दिएका थिए ।
पथलैया सव डिभिजन वन कार्यालयका प्रमुख विमल ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी, सुरक्षाकर्मी र वन कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वन अधिकृत शर्मिला नेपालले गर्नुभएको थियो ।



