निजगढ नगरपालिकामा लामो समयदेखि सेवा गर्दै आएका तीनजना कर्मचारीहरूलाई विदाई गरिएको छ। नगरपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा अनिवार्य तथा स्वेच्छिक अवकाशमार्फत सेवा समाप्त गर्नुभएका विष्णुलाल श्रेष्ठ, बाबुराम दाहाल र दिपा ढकाललाई औपचारिकरूपमा बिदाइ गरिएको हो।

नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्याल, लेखा अधिकृत शिवप्रसाद देवकोटा, वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, तथा अन्य विभिन्न वडाबाट सहभागी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले नगरको प्रशासनिक र विकास प्रक्रियामा विष्णुलाल श्रेष्ठ र बाबुराम दाहालले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनले भने,’नगरको सेवा र समृद्धिको आधार निर्माणमा उहाँहरूको भूमिकालाई नगरले कहिल्यै बिर्सने छैन। अनिवार्य अवकाशपछि उहाँहरूको जीवन सुख, शान्ति र स्वास्थ्यपूर्ण होस् भन्ने कामना गर्दछु।’

त्यसैगरी, स्वेच्छिक अवकाश लिई नगर सेवा परित्याग गरेकी श्रीमती दिपा ढकालप्रति शुभकामना व्यक्त गर्दै नगरप्रमुख पुरीले विदेशिक अध्ययन तथा रोजगारको अवसर अझ सशक्त र फलदायी बनोस् भन्ने अपेक्षा व्यक्त गरे।

‘उहाँले विदेशबाट प्राप्त ज्ञान, सीप र अनुभव भविष्यमा नगर र राष्ट्रको सेवामा फर्काउने अवसर पाउन सकून् भन्ने हाम्रो शुभेच्छा छ,’ पुरीले भने।

कार्यक्रममा विदाइ पाउने कर्मचारीहरूलाई नगरपालिकाको तर्फबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। उपस्थित कर्मचारीहरूले पनि सहकर्मीहरूप्रति भावुक शुभकामना तथा भविष्य सफलताको कामना व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा ‘फेरि भेटौंला’ भन्ने भावनासहित विदाइ गरिएका कर्मचारीहरूप्रति कृतज्ञता प्रकट गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय