निजगढ,
निजगढ नगरपालिका– ८ वडा कार्यालयले बिहीवारबाट आफ्नै नयाँ भवनबाट सेवा शुरु गरेको छ ।
निजगढ बजारको गुम्बा टोलमा नवनिर्मित भवनको बिहीवार बागमती प्रदेश सरकार अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेपछि कार्यालयले आफ्नै भवनबाट सेवा उपलब्ध गराउन थालेको हो ।
मन्त्री काफ्लेले ताम्रपत्र अनावरण गरेर भवन उद्घाटन गर्नुभएको थियो ।
उद्धाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले विकास निर्माण र जनताको हितको लागि काम गर्न प्रदेश र पालिकको सीमानाले नछेक्ने बताउनुभयो । उहाँले बागमती र मधेस प्रदेश छिमेकी पनि प्रदेश भएकोले २ प्रदेशबीच विकास निर्माण कार्यमा सहकार्य जरुरी भएको बताउनुभयो । ‘दुई प्रदेशबीच आपसी सम्बन्ध प्रगाढ पार्न र आपसी सहकार्यमा विकास निर्माणका काम संचालन गर्न बागमती प्रदेश सरकार तयार छ, उहाँले भन्नुभयो, मकवानपुरको बकैया र बागमती गाउँपालिका र निजगढ नगरपालिका जोड्ने सडक निर्माण र पर्यटकीय गन्तव्यहरुको खोजीमा दुई प्रदेशले सहकार्य गर्नसक्नेछन ।’
मन्त्री काफ्लेले केही कमिकमजोरीका बाबजुद अहिलेको राजनीतिक प्रणाली उत्कृष्ट व्यवस्था भएको पनि दाबी गर्नुभयो । देशमा देखिएका समस्या हल गरेर जनताको आकांक्षा पूरा गर्नुपर्नेमा उहाँल्ले जोड दिनुभयो ।
भवन उद्घाटन समारोहमा निजगढ नगरपालिकाका पूर्वनगर प्रमुख सुरेश खनाल, नेपाली कांग्रेश महासमिति सदस्य प्रतिनिधि पेमासिद्धी लामा, नेकपा माओवादीका रविराज दङ्गाल, गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा भवन निर्माण र सोको लागि जग्गा संरक्षण कार्यमा योगदान पु्याएबापत निजगढ गाविसका तत्कालिन वडा अध्यक्ष चन्द्र सिं लामालगायतलाई सम्मान गरिएको थियो । मन्त्री काफ्लेले कदर पत्रबाट उनीहरुको सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, लेखा प्रमुख शिवप्रसाद देवकोटा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवाहरू, सरकारी कर्मचारी, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष स्वर्ण लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य मनमाया तामाङ र स्वागत वडा सदस्य शालिकराम ढुंगानाले गरेका थिए ।
४ कोठाको सुविधा सम्पन्न सो भवन करिब ५३ लाखको लागतमा निमार्ण भएको हो । भवन उद्धाटनसंगै कार्यालयबाट सेवा शुरु गरिएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । भवन अभावमा यसअघि वडा कार्यालयले भाँडाको घरबाट सेवा प्रदान गर्दैआएको थियो ।



