सिमरा,
मधेस प्रदेशमा बाघ संरक्षणको लागि ‘बाघ मित्र’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पछिल्लो समय बाघ मर्ने क्रम बढेपछि संरक्षणकर्मीहरुले संरक्षणको लागि ‘बाघ मित्र’ अभियान सञ्चालन गर्ने तयारी गरेका हुन ।

पर्सा र बारा जिल्लामा गत वर्ष मात्र ६ वटा बाघ मरेपछि अभियान शुरु गर्न लागिएको हो । मानवलाई बाघबाट र बाघलाई मानवबाट जोगाउन ‘बाघ मित्र’ अभियान संचालन गर्न लागिएको पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार मानिसले बाघलाई शत्रु जनावरको मानेर खानेकुरामा विषादी हालेर मार्ने घटनाहरू बढ्न थालेपछि यो अभियान आवश्यक देखिएको हो ।

अभियान अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज तथा बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयहरूले संयुक्त रूपमा प्रत्येक जिल्लाबाट १०÷१० जना ‘बाघ मित्र’ स्वयंसेवक छनोट गर्ने तयारी गरेका छन् । हाल ‘बाघ मित्र’को छनोट प्रक्रिया, अधिकार र कर्तव्य, कार्यकाल तथा आचारसंहिता सम्बन्धी नीतिगत छलफल र गृहकार्य भइरहेको जनाइएको छ ।

यसै क्रममा बाराको सिमरामा दुई चरणको बैठक सम्पन्न भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको समन्वयमा अगाडि बढाइएको यो अभियानले वन्यजन्तु संरक्षणसँगै समुदाय र जनजिवनबीच सहअस्तित्वको सन्देश फैलाउने अपेक्षा गरिएको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीवकुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय