बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा हरेक दिन भइरहेका नयाँ खुलासा र मिडिया विश्लेषणका बीच उनकी प्रेमिका रिया चक्रवर्ती मिडियामा आएकी छन् ।
रियाले विहिबार भारतका धेरै मिडियालाई अन्तर्वार्ता दिदै आफ्नो पक्ष राखेकी छन् ।
रियाले अन्तर्वार्ताका क्रममा सुशान्तको परिवारमाथि गम्भीर आरोप लगाउदै घुमाउरो किसिमले सुशान्तको आत्महत्यामा परिवारलाई जिम्मेवार ठानेकी छन् ।
भारतीय टिभी आजतकमा करिब डेढ घण्टा लामो अन्तर्वार्तामा रियाले सुशान्तसँगको आफ्नो सम्बन्ध र उनको आत्महत्यापछिको आफ्नो अवस्था बारेमा विस्तारमा बताएकी छन् ।
अहिले भारतको सिबिआइले अनुसन्धान गरिरहेको यस प्रकरणमा रियाको अन्तर्वार्तापछि नयाँ मोडमा जाने विश्लेषण भारतीय मिडियाले गरेका छन् ।
रियाले अन्तर्वार्ताका क्रममा आफ्नो जीवन बर्बाद भएको भन्दै आफ्ना प्रेमी मरेपछि आफु रुन समेत नपाएको बताएकी छन् । उनले आफुलाई हरेकदिन हजारौं मार्ने धम्की आइरहेको बताउदै आफु र आफ्नो परिवार बर्बाद भएको बताएकी छन् ।
उनले अन्तर्वार्तामा सुशान्तले ड्रग्स लिने गरेको, डिप्रेसनमा रहेको बताउदै जुन ८ मा आफुले सुशान्तको घर छोडेर गएपछि जुन १४ सम्म के के भयो आफुले समेत जान्न चाहेको बताएकी छन् । रियाले सुशान्तकी दिदीलाई यो विषयमा जानकारी भएको हुनुपर्छ भन्दै उनी अगाडी आएर बताउनुपर्ने भनेकी छन् ।
रियाले सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले चार बर्षसम्म सुशान्तसँग कुरा नगरेको तर अहिले आएर मिडियामा अनेकौं बयान दिएकोमा आपत्ति जनाएकी छन् ।
अन्तर्वार्तामा रियाले आफुले नै सुशान्तको यो विषय सिबिआइले जाँच गर्नुपर्ने माग राखेको बताउदै सुशान्तले र आफुले न्याय पाउने बताएकी छन् ।
अहिले हरेक दिन नयाँ नयाँ प्रोपोगान्डा बनाइएको र आफुलाई अपराधीको रुपमा प्रस्तुत गरिएकोमा रियाले आपत्ति जनाएकी छन् ।
सुशान्तको बारेमा बोल्दै उनी अत्यन्त प्रतिभावान भएको र उनले आत्महत्या गर्छन भन्ने आफुले कल्पना समेत नगरेको बताएकी छन् ।
गत जुन १४ मा सुशान्तले आत्महत्या गरेपछि अहिले भारतमा यो विषय सबैभन्दा बढी चर्चामा रहेको छ । भारतीय मिडियामा अहिले सुशान्तको आत्महत्या प्रकरणमा हरेक दिन बहस र नयाँ नयाँ खुलासा भैरहेका छन् ।