आधुनिक गायनमा जमेका जोडी हुन् उदय सोताङ र मनिला सोताङ । उनीहरुले पहिलोपटक सांगितिक प्रस्तुती दिन शनिबार निजगढ आएका थिए ।

राति करीब ८ बजिसकेको थियो । चिसो बढ्दै थियो । दर्शक उदय र मनिलाको प्रतीक्षामा थिए । उद्घोषक मनिता पाण्डे र भाइकाजी श्रेष्ठले बोलाएपछि सोताङ जोडी मञ्चमा उक्लिए । दर्शकदीर्घाबाट ताली बज्यो । चिसो मौसम, अँधेरी रातमा सोताङ जोडीले केही भूमिका बाँध्दै सुरु गरे, ‘आधीबाटो हिडेपछि तिमीसित भेट भयो…….।’

कलाकार, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, पत्रकार, लेखक, सुरक्षा अधिकारी, व्यापारीलगायतलाई एकअर्कासँगै बसेर रमाउने यो मौका युथ अफ निजगढले दिएको थियो ।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बत्ती बालेर कन्सर्टको उद्धाटन गरेका हुन । सांगितिक कार्यक्रम प्रिहोली कन्सर्ट युथले निजगढ ७ स्थित शुभकार्य बैंकेट हलमा गरेको थियो ।

कार्यक्रममा सांसद मैनाली, प्रदेश सभा सदस्य मिना लामा, जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्व नगरप्रमुख सुरेश खनाल, उपप्रमुख लिला लामिछाने खनाललगायतले सम्बेधन गरेका थिए ।

कार्यक्रममा युथले बिभिन्न समयमा युथलाई सहयोग गर्ने, पुर्व अध्यक्ष, सल्लाहकार, लगाएत बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ दर्जनभन्दा बढीलाई सम्मान पनि गरिएको थियो । निजगढका सक्रिय युवाहरुको संगठन युथ अफ निजगढले होली पर्वको पूर्वसन्ध्यामा सांगितिकसहित विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यसैबिच, युथले प्रिहोली कन्सर्टको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा भरतपुर अस्पतालको प्राविधिक टोलीले सहयोग गरेको रक्तदान कार्यक्रमका संयोजक सागर तामाङ्गले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय