निजगढ, निजगढ नगरपालिकाले उखु उत्पादक कृषकहरूलाई कार्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।
नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले आज एउटा सूचना जारी गर्दै कृषि मन्त्रालयबाट वितरण हुने प्रोत्साहन अनुदान रकम प्राप्त गर्न नगर क्षेत्रका उखु उत्पादक किसानहरुले आगामी कार्तिक मसान्तभित्र पालिका कार्यालयमा नाम सूचीकृत गर्नुपर्ने जनाउनुभएको हो ।
सूचनामा जिल्ला प्रशासन कार्यालय, बाराबाट मिति २०८३÷०७÷११ गते प्राप्त पत्र र कृषि, वन तथा पर्यावरण मन्त्रालयवाट मिति २०८३÷०६÷२१ मा स्वीकृत “उखु उत्पादकलाई प्रोत्साहन अनुदान सम्बन्धि कार्यविधि, २०८३“ अनुसार निजगढ नगरपालिका क्षेत्रभित्रका उखु उत्पादक कृषकहरू नगरपालिकामा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
सूचीकृत हुन चाहने कृषकहरूले नेपाली नागरिकता÷राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, उखु खेती भएको जग्गाको लालपुर्जाको प्रतिलिपि (ऐलानी जग्गाको हकमा चार किल्ला वा ऐलानी जनाउने संकेत नम्बरसहितको स्थानीय तहको सिफारिस) र उखु खेती भएको जग्गा भाडामा लिएको हकमा एकाघर बाहेक भाडामा लिएको जग्गाको हकमा भाडा सम्झौताको पत्रसहित कार्यालयको कृषि शाखामा सम्पर्क गर्न भनिएको छ ।
त्यसैगरी कृषकको नाममा रहेको बैंक खाताको विवरण र गत वर्ष वा चालु वर्षमा उखु बिक्री गरेको भए बिकी रसिद÷भौचरको प्रतिलिपिलगायतका कागजातसहित आवेदन गर्नुपर्ने पनि जनाइएको छ ।



