निजगढ, विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रयोजनको लागि निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा आगामी कार्तिक १५ गतेको लागि अभिभावक भेला आह्वान गरेको
विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले एउटा सूचना निकालेर व्यवस्थापन समिति गठन गर्न कार्तिक १५ गते आइतबारका दिन बिहान ११ः ३० बजे दोस्रो पटकको लागि भेला बोलाउनुभएको हो ।
विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी चयन गर्न विद्यालयले गत असोज ११ गतेको लागि बोलाएको दोस्रो पटकको अभिभावक भेला प्रतिकुल मौसमका कारण स्थगित भएपछि दोस्रो पटक भेला डाकिएको हो ।
यसअघि गत भदौं १८ गते पहिलो पटक आयोजना गरिएको भेलामा अभिभावकहरुको गणपुरक संख्या नपुगेपछि भेला स्थगित भएको थियो । भेलाबाट अभिभावकहरुले आफूहरुमध्ये विविसको लागि २ जना महिला र २ जना पुरुष गरी ४ जना सदस्यहरु चयन गर्ने प्रावधान छ ।
अभिभावकहरुबाट प्रतक्ष्य निर्वाचित हुने ४ जना सदस्यहरुले शिक्षासेवी र चन्दादाता मध्येबाट थप २ जना सदस्य मनोनयन गर्ने र १ जना शिक्षक प्रतिनिधिसमेत गरेर ३ वर्षे कार्यकालको लागि ७ जनाको समिति गठन हुने छ ।
सोही समितिले भेलाबाट चुनिएका ४ जनामध्येबाट विद्यालय व्यवस्थापन समितिको लागि १ जना अध्यक्ष चयन गर्नेछ ।



