निजगढ,        निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित श्री लाल बकैया सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

निजगढ १० कै जनहित सामुदायिक वन उपभोक्ता समूह र श्री लाल बकैया वन समूहबीचको एकीकरणपछि गठन भएको सो वन समूहले पहिलो पटक साधारण सभा आयोजना गरेको हो । अघिल्लो आर्थिक वर्षको माघ महिनामा भएको साधारण सभाबाट २ वटा वन समूह गाँभ्ने निर्णय भएको थियो ।

वन समूहका अध्यक्ष जीत डिम्डुङ्गको अध्यक्षतामा भएको सो साधारण सभामा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष कुशबहादुर थापाले उपभोक्ताहरुले वन सम्पदाको उपयोगसंगै वनको संरक्षण पनि गर्नुपर्ने बताउनुभयो । सामुदायिक वन समुदायको आफ्नै सम्पति भएकोले सबैले मिलेर संरक्षण र सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

साधारण सभामा निजगढ १० का पूर्ववडा अध्यक्ष पद्मबहादुर मोक्तान, उपभोक्ताहरु रेशम माया मोक्तान, आशिक योञ्जन, एलिसा लो लगायतले वन समूहको काम कारबाहीबारे जिज्ञासा राखेका थिए । उनीहरुले काठ दाउरा तथा वन पैदावरको सहज बिक्री वितरणमा समूहले ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए । उपभोक्ताहरुको जिज्ञासामा सचिव राजन अधिकारी र अध्यक्ष डिम्डुङ्गले प्रष्ट पारेका थिए ।

साधारण सभामा जनमुखी वन समूह निजगढ ११ का अध्यक्ष सुरेशराम गुरो, राधाकृष्ण वन समूहका निजगढ १० का अध्यक्ष कुमार कार्की, वन समूहका पूर्वअध्यक्ष ज्ञानबहादुर मोक्तान, होमबहादुर मोक्तान तथा डिभिजन वन कार्यालय सिमराकी वन अधिकृत वर्षा लामा, रतपुरी सबडिभिजन वन कार्यालयका वन अधिकृत बादल लम्साललगायतको सहभागिता रहेको समूहका अध्यक्ष डिम्डुङ्गले जानकारी दिनुभयो ।

लालस्थित गुम्बा टोलमा भएको सो सभाको संचालन वन समूहका सचिव अधिकारीले गर्नुभएको थियो ।

२ दशक अघि डिभिजन वन कार्यालयबाट हस्तान्तरण भएपछि समूहमार्फत संरक्षण हुदैआएको आएको सो वन समूहमा हाल ३ सय घरधुरी उपभोक्ता सदस्यहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय