निजगढ, नेपाली कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गत आज हुने भनिएको निजगढ नगर अधिवेशन रोकिएको छ ।
नगर सभापती पदको लागि आकांक्षीहरु धेरै देखिएपछि अधिवेशनसंगै नगर कार्यसमिति चयन प्रक्रिया रोकिएको हो ।
‘केन्द्रीय कार्यतालिका अनुसार आजको लागि तोकिएको नगर अधिवेशन रोकिएको छ, निजगढको लागि देउवा समूहबाट संयोजक तोकिनुभएका अमिर मोक्तानले भन्नुभयो, भोलि फेरि छलफल गरेर नयाँ मिति तय गरिने छ ।’ मोक्तानले नगर सभापतीको लागि आकांक्षी धेरै भएको कारणले मात्रै अधिवेशन नरोकिएको पनि बताउनुभयो । ‘सभापतीको लागि ४ इच्छा जनाएका छन भन्ने मैले पनि सुनेको छ, उहाँले भन्नुभयो, तर आकांक्षी धेरै हुनु झन राम्रो पक्ष होे ।’
देउवा समूहबाट कांग्रेस निजगढ नगर सभापतीमा निजगढ वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, निजगढ नगरपालिका वडा नम्बर ५ की सीता अधिकारी, निजगढ ९ का खडकराज मैनाली र प्रदीपकुमार उप्रेतीले दाबी गर्नुभएको छ । सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न आकांक्षीबीच आज भएको छलफलमा सहमति बन्न नसकेपछि अधिवेशन रोकिएको स्रोतको दाबी छ ।
निजगढ नगर सभापतीको पछिल्लो पटक निजगढ वडा नम्बर १ का वडा अध्यक्ष एंव क्षेत्रीय प्रतिधिन लोप्चनले दाबी पेस गर्नुभएको हो । लोप्चनले संस्थापन पक्षको क्षेत्रीय प्रतिनिधि पदबाट राजिनामा दिएर देउवा समूहको तर्फबाट सभापती पदमा दाबी गर्नुभएको हो ।
अधिकारीले राजनीतिमा महिलाहरुको सहभागिता वृद्धि गर्न र पार्टीलाई जनआधारित बनाउन आफूले नगर सभापतीमा दाबी गरेको बताउनुभएको छ । महिलाहरुको आकर्षण बढाएर पार्टीलाई सुदृढ पार्न पनि सभापतीमा आफूलाई सहयोग गर्न उहाँले पार्टी कार्यकर्ताहरुमा आग्रह गर्नुभएको छ ।
अर्का दाबेदार उप्रेतीले पनि संस्थापन पक्षको क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएर सभापती पदमा आकांक्षा जाहेर गर्नुभएको हो । उप्रेती गत असोज ३ गते नेपाली कांग्रेस निजगढ नगरपालिका– ९ को वडा अधिवेशनबाट गगन थापा समूहको तर्फबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । उप्रेतीले असोज १८ गते सो पदबाट राजीनामा दिनुभएको हो ।
मैनाली र अधिकारी भने कांग्रेसको विशेष महाधिवेशनदेखि नै पार्टीभित्र असन्तुष्ट रहदैआउनुभएको बताइएको छ ।



