नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहबाट निजगढ नगर सभापतिका लागि युवा नेता खड्गराज मैनालीको नाम चर्चामा आएको छ। मैनालीलाई नगर सभापतिका रूपमा अघि बढाउने विषयमा समूहभित्र छलफल भइरहेको कांग्रेस स्रोतले जनाएको छ।
पार्टी संगठनलाई थप गतिशील बनाउने, युवाको सहभागिता बढाउने तथा नयाँ सोच र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने उद्देश्यले मैनालीलाई नगर सभापतिका रूपमा प्रस्ताव गरिएको बताइएको छ। मैनालीलाई सभापतिका रूपमा अघि सार्ने विषयमा समूहभित्र सकारात्मक वातावरण बनेको स्रोतको दाबी छ।
राजनीतिसँगै सामाजिक तथा युवा अभियानमा समेत सक्रिय रहँदै आएका मैनालीले युथ अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी तथा गौरीशंकर फाउंडेशनलगायत विभिन्न संस्थामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन्। ती संस्थामार्फत सामाजिक सेवा, युवा परिचालन तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएको उनको अनुभवलाई राजनीतिक संगठन निर्माणमा समेत उपयोगी हुने कांग्रेस नेताहरूको बुझाइ छ।
मैनालीको नाम नगर सभापतिका लागि प्रस्ताव भएसँगै उनका समर्थकहरूले यसलाई निजगढ कांग्रेसको नेतृत्वमा युवापुस्ताको दाबीका रूपमा व्याख्या गरेका छन्। पार्टीभित्र पुरानो पुस्तासँगै सामाजिक क्षेत्रमा सक्रिय युवालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बहस चलिरहेका बेला देउवा समूहले मैनालीलाई अघि सार्ने तयारी गरेपछि निजगढको नगर अधिवेशन थप रोचक बन्ने देखिएको छ।
यद्यपि, मैनालीले भने आफूले पार्टीमा कुनै पदको दाबी वा माग नगरेको बताएका छन्। निजगढ न्युजसँग कुरा गर्दै उनले नगर सभापतिका लागि आफूलाई प्रस्ताव आएको पुष्टि गरे।
‘मलाई नगर सभापति बन्न प्रस्ताव आएको छ। असोज २० गतेसम्म समय छ। यस विषयमा विभिन्न पटक छलफल र बैठक भइरहेका छन्। म अहिले पर्ख र हेरको अवस्थामा छु,’ मैनालीले भने, ‘हालसम्म मैले पार्टीमा कुनै पदको लोभ गरेको छैन र माग पनि गरेको छैन। तर कांग्रेसको विषम परिस्थितिमा मैले नेतृत्व लिनुपर्ने अवस्था आयो भने म तयार छु।’
उनले पार्टीलाई बलियो बनाउन र संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक परे जिम्मेवारी लिन आफू तयार रहेको संकेत गरेका छन्। मैनालीको उक्त भनाइसँगै निजगढ नगर सभापतिका लागि उनको सम्भावना थप बलियो बनेको कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ।
देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते वडा अधिवेशनबाट तल्लो तहको अधिवेशन प्रक्रिया सुरु गरेको छ। चरणबद्ध रूपमा वडा तथा अन्य तहका अधिवेशन सम्पन्न गर्दै असोज २० गते नगर अधिवेशन गर्ने कार्यतालिका रहेको छ। नगर अधिवेशनबाट नेतृत्व चयन भएपछि प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ।
देउवा नेतृत्वको कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तयारी गरेको छ। निजगढ नगर सभापतिमा मैनालीलाई अघि सार्ने देउवा समूहको तयारीले स्थानीय तहमा कांग्रेसको नेतृत्व चयनलाई भने थप चासोको विषय बनाएको छ।



