निजगढ,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाका पालिका सभापतीहरुले लामो समयदेखि स्थगित जिल्ला अधिवेशन तत्काल आयोजना गर्न माग गरेका छन ।

जिल्लाका विभिन्न पालिकाका सभापती र पदाधिकारीहरुले आज पार्टीका महामन्त्री विपिन आचार्यलाई काठमाण्डौंमा ज्ञापनपत्र बुझाउदै जिल्ला अधिवेशनको नयाँ मिति र स्थान यथाशीघ्र तोक्न आग्रह गरेका हुन ।

रास्वपाले बारा जिल्लाका अधिकांश पालिकामा वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसके पनि मिति र स्थान तोकेर पनि कार्यकर्ताबीचको विवादका कारण जिल्ला अधिवेशन भने आयोजना गर्न सकेको छैन ।

यसअघि निजगढमा जिल्ला अधिवेशन गर्ने मिति तोकिएको थियो । तर अधिवेशनको अघिल्लो दिन केन्द्रीय निर्वाचन आयोगले विशेष कारणभन्दै अधिवेशनको सम्पूर्ण प्रक्रिया स्थगित गरेको थियो । त्यसयता जिल्ला अधिवेशनको नयाँ मिति नतोकिदा जिल्लामा निर्वाचित नेतृत्वको रिक्तता र पार्टी गतिविधिसमेत प्रभावित हुदैआएको कार्यकर्ताहरुले बताएका छन ।

महामन्त्री आचार्यलाई बुझाइएको पत्रमा बारा जिल्लामा १६ स्थानीय तह रहेकामा १५ स्थानीय तहमा वडा तथा पालिका अधिवेशन सम्पन्न भइसकेको उल्लेख छ । पार्टी विधानमा बाँकी पालिकाको अधिवेशन पछि सम्पन्न गर्ने व्यवस्था रहेको र सोही अनुसार जिल्ला अधिवेशनको मिति तत्काल घोषणा हुनुपर्ने पत्रमा दाबी गरिएको छ ।

पत्रमा रास्वपा बारामा लामो समयसम्म जिल्ला नेतृत्वविहीन हुँदा संगठन परिचालन, सदस्यहरूको गतिविधि, स्थानीय जनसरोकारका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्य तथा राजनीतिक गतिविधिमा असर परेको जनाइएको छ ।

जिल्ला अधिवेशनको मिति र स्थान तत्काल तोक्न, मतदाता तथा प्रतिनिधिको सूची पारदर्शी रूपमा सार्वजनिक गर्न, उम्मेदवारी दर्ता, मतदान र मतगणनाको प्रक्रिया अघि बढाउन तथा केन्द्रीय निर्वाचन आयोगबाट आवश्यक निर्वाचन संरचना गठन गरी अधिवेशन सञ्चालन गर्न माग गरिएको छ ।

पत्रमा जिल्लाको निजगढ, कोल्हबी, सिम्रौनगढ, महागढीमाईलगायत जिल्लाका सबै पालिकका सभापती, क्षेत्रीय सभापतीलगायतले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय