नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर सभापतिका लागि युवा नेता प्रदीप कुमार उप्रेतीले देउवा समूहबाट उम्मेदवारी दिने दाबी गरेका छन्। सभापतिको उम्मेदवारीको तयारीसँगै उप्रेतीले गगन थापा समूहबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको पदबाट राजीनामा दिएका छन्।

उप्रेती गत असोज ३ गते नेपाली कांग्रेस निजगढ नगरपालिका–९ को वडा अधिवेशनबाट गगन थापा समूहको तर्फबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए। क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि आफू खुसी भएको उल्लेख गर्दै उनले पार्टीभित्रको पछिल्लो प्रक्रियाप्रति भने असन्तुष्टि जनाएका छन्।

उप्रेतीले असोज १८ गते निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै क्षेत्रीय प्रतिनिधि पदबाट राजीनामा दिएका हुन्। राजीनामा पत्रमा उनले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधि, विधान र स्थापित प्रक्रियाअनुसार पार्टीका गतिविधि सञ्चालन हुनुपर्ने बताएका छन्।

उनले आफूलाई जानकारी नै नदिई तथा सम्बन्धित उम्मेदवारलाई प्रक्रियामा सहभागी नगराई केही व्यक्तिले आफूखुसी नाम राखेर निर्वाचित भएको भन्दै सामाजिक सञ्जालमार्फत घोषणा गरेको विषयप्रति असन्तुष्टि जनाएका छन्।

‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा विधि र विधानविपरीत मनोमानी ढंगले उम्मेदवारलाई थाहा नदिई, प्रक्रियामा प्रवेश नगरी केही व्यक्तिहरूले आफूखुसी नाम राखी हामी निर्वाचित भयौँ भनेर सामाजिक सञ्जालमा घोषणा गरेको देख्दा आश्चर्यचकित परेँ,’ उप्रेतीले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

पार्टीभित्रको उक्त गतिविधिले आफ्नो चित्त नबुझेको भन्दै उनले अब क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा नरहने निर्णय गरेको बताएका छन्। आफ्नो राजीनामा व्यक्तिगत असन्तुष्टिभन्दा पनि पार्टीभित्र विधि र प्रक्रियाको पालना हुनुपर्ने विषयसँग जोडिएको उनको भनाइ छ।

उप्रेतीले राजीनामा पत्रमा आफू क्षेत्रीय प्रतिनिधिबाट अलग भएको जानकारी गराउँदै ‘जय नेपाल’ उल्लेख गरेका छन्।

क्षेत्रीय प्रतिनिधिबाट राजीनामा दिएपछि उप्रेतीले नेपाली कांग्रेसको देउवा समूहबाट निजगढ नगर सभापतिमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन्। युवा नेता उप्रेतीको उम्मेदवारी दाबीले निजगढ कांग्रेसको आगामी नगर नेतृत्व चयनमा नयाँ समीकरण बन्ने संकेत गरेको छ।

निजगढ नगर सभापतिका लागि यसअघि पनि विभिन्न समूह र नेताहरूको नाम चर्चामा रहँदै आएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नगर नेतृत्व चयनका लागि नेताहरूबीच सहमतिको प्रयास भइरहेका बेला उप्रेतीले औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेपछि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

विशेषगरी देउवा समूहबाट उप्रेतीको दाबी आएपछि निजगढ कांग्रेसभित्र समूहगत समीकरण र नेतृत्वका विषयमा थप छलफल हुने देखिएको छ। पार्टी संगठनलाई चलायमान बनाउने, युवालाई नेतृत्वमा अघि बढाउने तथा स्थानीय तहमा कांग्रेसको संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित आफू नगर सभापतिको दौडमा अघि बढ्ने उप्रेती निकट नेताहरूले बताएका छन्।

यता, गगन थापा समूहबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका उप्रेतीले सोही पदबाट राजीनामा दिएर अर्को समूहबाट नगर सभापतिको दाबी गर्नुले निजगढ कांग्रेसको आन्तरिक राजनीतिमा समेत चासो बढाएको छ। उनको राजीनामा र सभापतिको उम्मेदवारी दाबीलाई कतिपयले निजगढमा समूहगत पुनर्संरचनाको संकेतका रूपमा समेत हेरेका छन्।

अब नगर सभापति चयनका क्रममा उप्रेतीले आफ्नो पक्षमा कति समर्थन जुटाउन सक्छन् भन्ने विषय महत्वपूर्ण बन्नेछ। सहमतिमा नेतृत्व चयन हुने अवस्था बनेमा उनको दाबी कसरी सम्बोधन हुन्छ भन्ने विषय पनि कांग्रेस निजगढभित्र चासोको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय