हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ सहयोग गरेको छ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले उक्त सहयोग गरेको हो। संस्थाका प्रबन्ध निर्देशक परसुराम अधिकारी (पीआर अधिकारी)ले भदौ १२ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका हुन्।
राईट एण्ड एसोसियट्सले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धार कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा विपद्का कारण ठूलो संख्यामा नागरिक घरबार तथा आफन्त गुमाएर कठिन अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो संकटको समयमा प्रभावित परिवार तथा समुदायको साथमा रहेको संस्थाले जनाएको छ।
‘यस दुःखको घडीमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ,’ प्रबन्ध निर्देशक अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संस्थाले राज्यको उद्धार तथा राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त योगदान गरिएको जनाएको छ। पछिल्लो बाढी तथा पहिरोका कारण उत्तरी नेपालका विभिन्न क्षेत्रमा घर, सडक, पुललगायतका पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
२६ वर्षदेखि शिक्षा तथा माइग्रेसन क्षेत्रमा सक्रिय
करिब २६ वर्षदेखि शिक्षा, भिसा तथा माइग्रेसन क्षेत्रमा सक्रिय राईट एण्ड एसोसियट्सले काठमाडौंको पुतलीसडकबाट आफ्नो सेवा सुरु गरेको हो। संस्थाले नेपाल तथा विदेशमा करिब एक दर्जनभन्दा बढी शाखा तथा कार्यालयमार्फत शिक्षा, भिसा तथा माइग्रेसनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।
व्यावसायिक गतिविधिसँगै विपद् तथा सामाजिक संकटका समयमा समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्दै आएको संस्थाले जनाएको छ।
नेपालमा हालै आएको बाढी तथा पहिरोपछि देश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न निकायबाट प्रभावितको उद्धार तथा राहतका लागि सहयोग जुटिरहेको छ।
‘एकता नै शक्ति हो, सहयोग नै मानवता हो’ भन्ने भावनासहित विपद्मा परेका नागरिकको साथमा आफूलाई उभ्याएको राईट एण्ड एसोसियट्सले जनाएको छ।




