राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढमा पार्टीको ब्यानर प्रयोग गरेर गरिएको एउटा कार्यक्रमलाई लिएर नगर समितिले आपत्ति जनाएको छ। नगर समितिको जानकारीबिना पार्टीको नाम प्रयोग गरेर कार्यक्रम आयोजना गरिएको भन्दै नगर समितिले आफ्ना पदाधिकारी तथा सदस्यलाई त्यस्ता कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो।

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा बुधवार निजगढमा रास्वपाको ब्यानर प्रयोग गरेर लागुऔषध दुव्र्यसनविरुद्ध अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। होली एन्जल्स बोर्डिङ स्कुलको सभाहलमा भएको कार्यक्रम बौद्धिक सर्कल, निजगढ नगरपालिकाको आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा युवापुस्तामा बढ्दै गएको लागुऔषध दुव्र्यसन, यसको सामाजिक प्रभाव तथा नियन्त्रण र रोकथामका उपायबारे छलफल भएको थियो। परिवार, विद्यालय, समुदाय, सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्यबाट मात्रै लागुऔषधको समस्या न्यूनीकरण गर्न सकिने वक्ताहरूले बताएका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नारायण शर्माले युवाको ऊर्जा र क्षमतालाई सकारात्मक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए। युवालाई कुलतबाट जोगाउन परिवार र समाजले समयमै चासो दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि वैदेशिक रोजगार बोर्डका निवर्तमान कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा दीर्घकालीन असर पार्ने बताए। युवालाई शिक्षा, रोजगारी तथा सिर्जनात्मक गतिविधिमा जोड्नुपर्ने उल्लेख गर्दै उनले लागुऔषध नियन्त्रणमा राज्यका निकायसँगै नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारीले लागुऔषधसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए। उनले लागुऔषधको सेवन, ओसारपसार तथा कारोबारसँग सम्बन्धित कानुनी प्रावधान, त्यसमा हुने कारबाही तथा युवाहरू लागुऔषधको जालमा पर्न नदिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराए।

प्रहरी निरीक्षक अधिकारीले लागुऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै परिवार, विद्यालय, स्थानीय समुदाय र सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। युवाहरूलाई लागुऔषधबाट टाढा राख्न अभिभावक तथा समुदायले उनीहरूको गतिविधिमा ध्यान दिनुपर्नेमा समेत उनले जोड दिए।

अन्तरक्रियाका क्रममा सहभागीहरूले लागुऔषधको बढ्दो जोखिम, युवाहरूलाई कुलतबाट जोगाउने उपाय, कानुनी व्यवस्था, अभिभावकको भूमिका तथा स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सचेतनामूलक कार्यक्रमका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए।

कार्यक्रमको सञ्चालन यम कुमारी सापकोटा (सरिता)ले गरेकी थिइन।

नगर समितिको सूचना

रास्वपा निजगढ नगर समितिले भने पार्टीको नाम लिएर नगर समितिको जानकारीबिना कार्यक्रम आयोजना नगर्न सूचना जारी गरेको छ।

नगर सभापति सञ्जीव भट्टराईले हस्ताक्षर गरेको सूचनामा नगर समितिलाई कुनै जानकारी नदिई पार्टीको नाम लिएर कार्यक्रम आयोजना गर्न लागेको खबर प्राप्त भएको उल्लेख छ। त्यसपछि २०८३ साउन २७ गते बसेको नगर समितिको बैठकले त्यस्ता कार्यक्रममा नगर समितिका कुनै पनि पदाधिकारी तथा सदस्य उपस्थित नहुने निर्णय गरेको जनाइएको छ।

सूचनामा नगर समितिका पदाधिकारी, प्रत्येक वडाका वडा सभापति तथा सम्पूर्ण पदाधिकारी र सदस्यलाई नगर समितिको जानकारीबिना पार्टीको नाम प्रयोग गरेर आयोजना हुने कार्यक्रममा सहभागी नहुन भनिएको छ।

नगर समितिको सूचनामा भने कुन कार्यक्रमलाई लक्षित गरेर यस्तो निर्णय गरिएको हो भन्ने स्पष्ट खुलाइएको छैन। तर सोही दिन रास्वपाको ब्यानरमा लागुऔषधविरुद्धको कार्यक्रम सम्पन्न भएपछि नगर समितिले यस्तो सूचना जारी गरेकाले उक्त कार्यक्रमलाई लिएर पार्टीको स्थानीय संगठनभित्र समन्वयको प्रश्न उठेको देखिन्छ।

‘पार्टीको नाम प्रयोग गर्दा संगठनसँग समन्वय आवश्यक’

नगर समितिको निर्णयले पार्टीको नाम र ब्यानर प्रयोग गरेर कार्यक्रम सञ्चालन गर्दा स्थानीय संगठनसँग समन्वय गर्नुपर्ने विषयलाई अघि सारेको छ।

पार्टीको नाममा हुने कार्यक्रमबारे नगर समितिलाई जानकारी नदिइएको अवस्थामा पदाधिकारी तथा सदस्यहरू सहभागी नहुने निर्णयले निजगढमा रास्वपाका गतिविधि सञ्चालनमा नगर समितिको भूमिका र अधिकार क्षेत्रलाई समेत स्पष्ट पार्न खोजिएको देखिन्छ।

यता, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्पन्न कार्यक्रममा भने लागुऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले विभिन्न सरोकारवालाबीच अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, शिक्षक, बुद्धिजीवी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो।

यस घटनाले सामाजिक मुद्दामा केन्द्रित कार्यक्रम र पार्टीको संगठनात्मक समन्वयबीचको दूरीलाई भने सतहमा ल्याएको छ। कार्यक्रमको उद्देश्य लागुऔषधविरुद्ध सचेतना भए पनि पार्टीको ब्यानर प्रयोगको विषयमा भने रास्वपा निजगढ नगर समितिले छुट्टै संस्थागत धारणा सार्वजनिक गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय